४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

‘संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छ’

पूर्वराष्ट्रपति डा. रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा गर्न सक्ने शक्तिसहितको पक्षमा जनमत आउने विश्वास व्यक्त गरेका छन्।

यहाँको लक्ष्मीनियाँ गाउँपालिका-४ स्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानको रक्षा र नवयुवाको चाहना सम्बोधन गर्न लोकतान्त्रिक शक्ति चुनेर संसदमा पठाउन आग्रहसमेत गरे।

पूर्वराष्ट्रपति डा. यादवले २०८४ मा हुनुपर्ने निर्वाचन विषम परिस्थितिका कारण २०८२ मै हुन लागेको भन्दै मतदातालाई गम्भीर भएर विवेकपूर्ण ढङ्गले मतदान गर्न आग्रह गरे। “हामी देशमा उत्पन्न विषम परिस्थितिका कारण आज निर्वाचनमा होमिएका छौं। शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न होस् र देशमा स्थिरता कायम हुने गरी जनमत आओस् भन्ने मेरो कामना छ”, उनले भने।

पूर्वराष्ट्रपति डा. यादवले नेपालको संविधान लोकतान्त्रिक आन्दोलनका उपलब्धिको परिणाम भएको उल्लेख गर्दै त्यसमा  २००७, २०४६ र २०६२/६३ सालका जनआन्दोलन तथा मधेस आन्दोलनको महत्त्वपूर्ण भूमिका रहेको बताए।

सङ्घीय लोकतान्त्रिक, समावेशी तथा समानुपातिक विशेषतासहितको संविधानलाई अझ सुदृढ बनाउन सही पार्टी र सही व्यक्ति छनोट गर्नुपर्ने उनको भनाइ छ।

“संविधान र संविधानले संस्थागत गरेका उपलब्धिका लागि धेरैको बलिदानीपूर्ण योगदान छ। यस बीचमा गत भदौ २३ र २४ मा जेन जी विद्रोह भयो, यस घटनालाई सरकारले उचित ढङ्गले व्यवस्थापन गर्नुपर्थ्याे”, डा.यादवले  भने, “युवाहरूका माग जायज थिए तर त्यही क्रममा देशभर आगजनी गराएर अस्थिरता फैलाउने प्रयास प्रतिगामी शक्तिबाट भयो। यस अवस्थामा देशको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि लोकतान्त्रिक शक्तिलाई विजयी गराउन आवश्यक छ।”

उनले निर्वाचन सफल भएर देशमा शान्ति कायम हुने विश्वास व्यक्त गरे। 

प्रकाशित: २१ फाल्गुन २०८२ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App