२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।  

भेटमा शुभकामना आदानप्रदानसगैं द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, श्रम आप्रवासन, शिक्षा तथा तालिमलगायत विषयमा संवाद भएको थियो।  

उपराष्ट्रपति यादवले नेपाल–इजरायलबीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, सद्भाव, पारस्परिक समझदारी तथा सहयोगमा आधारित उत्कृष्ट सम्बन्ध कायम रहेको बताए । उनले अर्थतन्त्र, व्यापार, पर्यटन तथा लगानीका क्षेत्रमा सहयोग विस्तार गर्ने सम्भावना रहेको भन्दै यस्ता अवसरको पहिचान तथा उपयोगमार्फत दुवै मुलुकले पारस्परिक लाभ हासिल गर्नसक्ने विश्वाससमेत व्यक्त गरेका छन् । 

उपराष्ट्रपति यादवले नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराएकामा इजरायल सरकारप्रति धन्यवाद व्यक्त गर्दै नेपाली विद्यार्थी तथा पेशाकर्मीहरूका लागि छात्रवृत्ति, व्यावसायिक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई इजरायलले निरन्तरता प्रदान गर्दै आएकामा नेपालले उच्च मूल्याङ्कन गरेको बताए।  

‘शिक्षा, कृषि, सहकारी विकास, प्रहरी तथा सैनिक तालिमलगायतका क्षेत्रमा इजरायलले पुर्याउँदै आएको सहयोग प्रशंसनीय छ, विशेषगरी कृषि प्रविधि, अनुसन्धान तथा क्षमता विकासमा हुने सहकार्यले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण तथा खाद्य सुरक्षामा रूपान्तरणकारी भूमिका खेल्न सक्छ', उनले भने ।  उपराष्ट्रपति यादवले दुवै देशका विश्वविद्यालय, अनुसन्धान संस्थान तथा नवप्रवर्तन प्रणालीबीच सहकार्यका अपार सम्भावना रहेको बताए।  

नेपाल–इजरायलले संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा निकट सहकार्य र सहयोगको परम्परा कायम राख्दै आगामी दिनमा रचनात्मक सहकार्य अझ सुदृढ हुँदै जाने बताए। 

पश्चिम एशियाको विकसित परिस्थितिलाई नजिकबाट अवलोकन गरिरहेको र नेपाल शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तप्रति दृढ प्रतिबद्ध रहनुको साथै शान्ति, स्थायित्व तथा पारस्परिक समझदारी प्रवद्र्धन गर्ने प्रयासलाई निरन्तर समर्थन गर्दै आएको बताए।  

उपराष्ट्रपति यादवले इजरायलसँगको सम्बन्धलाई उच्च महत्व दिँदै दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ गहिरो तथा विस्तारित बनाउन नेपाल पूर्ण प्रतिबद्धता गर्दै इजरायलको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा इजरायल सरकार तथा जनताप्रति हार्दिक शुभकामना व्यक्त समेत गरे।  

इजरायली महामहिम राजदूतवासले नेपाललाई कृषि, माहुरीपालन,  माछापालनलगायत क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक रहेको बताउँदै  ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत धेरै नेपालीहरुले सीप सिकेर नेपालका विभिन्न क्षेत्रमा काम गरिरहेको बताए । साथै नेपालीहरुका लागि ‘वर्क अपच्र्युनिटी’ प्रदान गर्न इजरायल इच्छुक रहेको  बताए। 

प्रकाशित: १ जेष्ठ २०८३ १७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App