१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

भन्सार छलीको चार सय बोरा चिनी ‘गायब’, सशस्त्रका १८ जनामाथि अनुसन्धान सुरु

एआईको सहयोगमा बनाइएको सांकेतिक तस्बिर।

भारतबाट भन्सार छली ल्याइएको चिनी, गोदामबाटै गायब भएको छ। रौतहटको शिवनागरबाट बरामद गरी ल्याइएको ठुलो परिमाणको चिनी भण्डारण गरिएको स्थानबाटै गायब भएको हो।

भन्सार छलीको करिब चार सय बोरा चिनी गायब भएपछि सशस्त्र प्रहरीको केन्द्रीय कार्यालयले चासो राख्दै दुई डिएसपी, एक प्रहरी निरीक्षकसहित १८ जना प्रहरी अधिकारीमाथि अनुसन्धान थालेको छ।

गत साउन २९ गते राति गरुडा नगरपालिकाको शिवनगरमा रहेको उपेन्द्र सहनीको घरमा भन्सार छलीको करिब ६ सय बोरा चिनी रहेको सूचनाका आधारमा छापामार्न पुगेको सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा ११ नम्बर गण हेडक्वाटर अन्तर्गत रहेको वेस क्याम्प सन्तपुरको टोलीले एक सय ६ बोरा चिनीमात्र नियन्त्रणमा लिएर गौर भन्सारमा बुझाएको पाइएको थियो।

बाँकी रहेको करिब चार सय बोरा चिनी सहनीको घरमै छाडेको प्रारम्भिक अनुसन्धानमा देखिएपछि वेस क्याम्प सन्तपुरका डिएसपी राजेन्द्र बस्नेत, गौर भन्सारका डिएसपी अमर लामा, बिओपी दुघियाभारका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र लोगेजूसहित १८ जना सशस्त्र प्रहरी अधिकारी अनुसन्धानमा तानिएका हुन्।

सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको निर्देशनमा डिएसपी लामालाई प्रधान कार्यालयमा तानेर छानबिन सुरु गरिएको छ। वेस क्याम्प सन्तपुरका डिएसपी राजेन्द्र बस्नेत र बिओपी दुधियाभारका निरीक्षकसहितलाई सशस्त्रको मधेश प्रदेश मुख्यालयले तानेर छानबिन गरी रहेको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता कालीदास धौवजीले बताए।

डिएसपी बस्नेतसहित टोलीमा संलग्न रहेकाहरुलाई प्रदेशमा बोलाएर घटनाबारे बुझ्ने काम भइरहेको मधेश प्रदेश प्रमुख डिआईजी कृष्ण ढाकालले जानकारी दिए। कुन कारणले घरमा भेटिएको चिनीको बोरा छोडिएको हो भन्नेसम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाइ छ।

चिनी तस्करीमा कोको संलग्न छन् भन्नेबारे पनि समानान्तररुपमा अनुसन्धान भइरहेको जानकारी दिँदै डिआईजी ढकालले केहीको नाम जोडिन आएकाले उनीहरुमाथि अनुसन्धान भइरहेको बताए।

भारतबाट भन्सार छलेर करिब पाँच सय बोरा चिनी उपेन्द्र सहनीको घरमा भण्डार गरिएको सूचना पाएका सशस्त्र प्रहरी बलका महानिरिक्षक अर्यालले तत्काल भन्सार दाखिला गर्न निर्देशन दिएपनि एक सय ६ बोरामात्र बुझाइएको थियो।

शिवनगरमा सशस्त्र प्रहरी पुगेपछि तस्करको एक समूह पुगेको र आन्तरिक सल्लाहमा थोरैमात्र चिनीको बोरा भन्सार दाखिला गरेर बाँकी त्यहीँ छाडेको स्थानीयको भनाइ छ।

चिनी तस्करी गर्दै नेपालका विभिन्न बजारसम्म पुर्‍याउन तस्करको ठुलै समूह रौतहटसहितका जिल्लामा सक्रिय रहेको बताउँदै स्थानीयले थाहा पाएर पनि सुरक्षाकर्मीले नजरअन्दाज गर्ने गरेको बताए।

उपेन्द्र सहनीको घरमा छापामार्न पुगेको प्रहरी टोलीले चिनीको बोरासहित ९ बोरा सिमेन्ट, १० बोरा मल, लुगा धुने सर्फ १० बोरा पनि बरामद गरेको थियो। ती सबै सामान भने प्रहरीले बुझाएको भन्सार कार्यालय गौरले जनाएको छ।

प्रकाशित: ५ भाद्र २०८२ १९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App