नेपाली कांग्रेसले जिम्मेवारी खोसिएका चारसहित पाँच जिल्लाका जिल्ला सभापतिलाई क्रियाशील सदस्यता शुल्क बुझाउन पत्र पठाएको छ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले भदौ ३१ गते बागलुङका जीत शेरचन, बझाङका खड्कबहादुर बोहरा, डोटीका नरेन्द्रबहादुर सिंह, कञ्चनपुरका पदम बोगटी र मुगुका ऐनबहादुर शाहीलाई पत्र पठाउँदै क्रियाशील सदस्यताबापत उठेको रकम केन्द्रीय कार्यालयमा दाखिला गर्न निर्देशन दिएका हुन्।
पत्रमा १५औँ महाधिवेशनको प्रयोजनका लागि क्रियाशील सदस्यताबापतको रकम वडा तह हुँदै जिल्ला तहमा आइसके पनि हालसम्म केन्द्रमा दाखिला नभएको उल्लेख छ। उनीहरूलाई उठेको सम्पूर्ण रकम असोज २ गते दिउँसो १ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गर्न भनिएको छ।
कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका तय गरेको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशनअघि असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन, असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन गर्ने तालिका छ।
प्रकाशित: २ आश्विन २०८३ १५:०९ शुक्रबार





