नेपाली कांग्रेसका सभापति गगन थापाले आर्थिक, सामाजिक वा अन्य कुनै कारणले निराश भएर आत्महत्याको सोचमा पुगेका युवालाई त्यसो नगर्न आग्रह गर्दै आफूहरू साथमा रहेको बताएका छन्।
बिहीबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित नेपाली कांग्रेसको ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा कार्यक्रममा सम्बोधन गर्दै थापाले जीवनप्रति आशा नहार्न आग्रह गरे।
‘यदि कुनै युवक वा नेपालीले आर्थिक, सामाजिक वा जुनसुकै कारणले आफ्नो जीवन अन्त्य गर्ने सोच बनाइरहेको छ भने म नेपाली कांग्रेसको सभापतिका रूपमा भन्न चाहन्छु, त्यसो नगर साथी, हामी छौं। हामी सम्हाल्छौं। एक्लै नसकिएला, मिलेर सक्छौं,’ उनले भने।
थापाले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले नागरिकको दुःख सुन्नु र त्यसमा साथ दिनुलाई नै राजनीतिको मूल जिम्मेवारीका रूपमा लिएको स्मरण गरे। उनका अनुसार जनताको पीडामा साथ नदिने र चुनावका बेला मात्रै देखिने कांग्रेस, बीपीले परिकल्पना गरेको कांग्रेस हुन सक्दैन।
उनले कांग्रेसले महासमिति बैठक र विशेष महाधिवेशनबाट राजनीतिक गतिविधिसँगै सामाजिक सेवालाई पनि समान प्राथमिकता दिने नीति पारित गरिसकेको जानकारी दिए। प्रत्येक समितिले ५० प्रतिशत राजनीतिक र ५० प्रतिशत बृहत्तर समुदायको हितमा काम गर्ने निर्णय भएको उनले बताए।
थापाका अनुसार यही अवधारणाअनुसार ‘जरा अभियान’ सम्पन्न गरी अब ‘नेपाली कांग्रेस फर नेसनल कज’ अभियान सुरु गरिएको छ। यस अभियानमार्फत नागरिकको कल्याण, अधिकारको संरक्षण र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर काम गरिने उनले बताए.
प्रकाशित: ७ श्रावण २०८३ १८:१२ बिहीबार





