१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

तीन वर्षमा भैरवस्थानमा सवा करोडको पूर्वाधार

हरेलो मेलाको उपलब्धि : मन्दिर जाने सडकमा सुधार

भैरवस्थान मन्दिरमा निर्माण गरिएको प्रवेशद्वार। तस्बिर: संगम/नागरिक

बागलुङकै चर्चित धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै गएको भैरवस्थान मन्दिर परिसरमा तीन वर्षमा झण्डै सवा करोडको पूर्वाधार निर्माण भएको छ।

२०७९ सालमा नियुक्त भएको भैरवस्थान गुठी व्यवस्थापन समितिले यो तीन वर्षको बीचमा विभिन्न सरकारी निकाय र व्यक्तिगत साझेदारहरूको सहयोगमा उक्त भौतिक संरचना निर्माण गरेको हो। आफूहरूले नियुक्त भएर आएपछि पहिलो पटक सचिवालय व्यवस्था गरेको त्यसका लागि गण्डकी प्रदेश सरकारको अर्थ मामिला मन्त्रालयबाट १० लाख लिएर भवन बनाएको भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रबहादुर केसीले बताए।

‘पहिले मन्दिरको सचिवालय पनि थिएन, व्यवस्थापन समितिको निर्णय गर्ने माइन्युट पनि हामीले पाएनौं,’ उनले भने, ‘हामी नियुक्त भएर आएपछि सचिवालय व्यवस्थापनका लागि सबैभन्दा पहिले भवन बनाउने काम गर्यौं। त्यसमा प्रदेश सरकारले सहयोग गर्यो।’ संघीय सरकार पर्यटन मन्त्रालयको बागलुङ नगरपालिकाअन्तर्गत २७लाख रुपैयाँमा अर्को भवन निर्माण गरिएको उनले जानकारी दिए। ‘हामीहरू अलि धेरै जना बैठक बस्नका लागि र अन्य प्रयोजनका लागि पनि यो भवन निर्माण गरेका छौं। दुई तलाको छ,’ उनी भन्छन्।

पहिलो हरेलो मेलागर्दा बागलुङ नगरपालिकाले दिएको पाँच लाख रुपैयाँमध्येबाट जोगाएको ३ लाख ४८ हजारमा गुठीले थपेर साढे १० लाखको मन्दिर प्रवेशद्वारामा गेट पनि निर्माण गरिएको छ। ‘हरेलो मेलाका लागि नगरपालिकाले दिने भनेको पाँच लाखमध्येबाट तीन लाख ४८ हजार जोगायौं त्यसमा गुठीको रकम थपेर साढे १० लाखमा मन्दिर पसिरमा गेट निर्माण भएको छ,’ उनले भने, ‘यसले मन्दिरको सुरक्षा गरेको छ। अनावश्यक जीवजन्तुहरू यहाँ आएर क्षति पुर्या‍उने अवस्था रोकिएको छ।’

जिल्ला वन डिभिजन कार्यालय बागलुङ मार्फत २० लाखमा गेटदेखि मन्दिरसम्म कालो ढुङ्गा टाँसेर पदमार्ग बनाउने तल्लो पूर्वपट्टीको भागमा तारजाली निर्माण गरिएको भैरवस्थान गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल बताउँछन्।

सामाजिक विकास कार्यालयबाट १० लाखबाट चारकोठे पक्की शौचालय निर्माण भएको छ। दक्ष पौडेल एक लाख ८० हजार रुपैयाँ खर्च गरेर खानेपानीको धारा निर्माण गरिदिएका छन्। विभिन्न दाताहरूले घण्टी निर्माण गरेर स्थापना गर्ने काम पनि भएको उनले जानकारी दिए। ‘यहीका स्थानीय एकबहादुर केसी संगमले मन्दिर परिसरमै गणेश मन्दिर निर्माण गरेर हस्तान्तरण गर्ने चरणमा हुनुहुन्छ,’ अध्यक्ष ढकालले भने, ‘लायन्स क्लब बागलुङले चौतारी निर्माण गरिदिएको छ भने हमाल दिदीले पनि चौतारी बनाइ दिनुभएको छ।’

मन्दिरमा भक्तजनहरूलाई फूलपाती बिक्री तथा खाजाको व्यवस्थापनका लागि सटर निर्माण गरेर भाडाँमा लगाइएको छ। ‘हामीले आन्तरिक स्रोतबाट १८ लाख बढी खर्चेर ११ वटा सटर बनाएका छौं,’ अध्यक्ष ढकाल भन्छन्, ‘त्यसबाट हामीलाई मासिक ३० हजार रुपैयाँ भाडा आउँछ। अहिले पूजा सामग्रीहरू व्यवस्थित रूपमा बिक्री गर्ने अवस्था बनेको छ।’ पर्यटन कार्यालयको ५ लाख रकममा १६५ फिट पदमार्ग निर्माण गरिएको छ। २०८० सालको हरेलो मेला उद्घाटन गर्न आएको मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सरङ्गीदेखि भैरवस्थान मन्दिरसम्म जाने सडकलाई ५ करोडको बहुवर्षीय योजनामा समावेश गर्ने बचन दिएका थिए।

त्यही बचनअनुसार गत आर्थिक वर्षमा एक करोड ७० लाखको काम सम्पन्न भएर भुक्तानी भैसकेको छ। ‘सरङ्गीदेखि चामडाँडासम्मको क्षेत्रमा गत आर्थिक वर्षमा काम भएको छ,’ भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका सचिव भीम पौडेल भन्छन्, ‘अहिलेसम्म ३८ सय मिटर नाली, ३२ सय मिटर ग्राबेल, ६ सय मिटर सडक ढलान भएको छ।’ प्रतिबद्धता अनुसार पाँच करोड रुपैयाँ सबै बजेट आएको खण्डमा मन्दिरसम्मको सडक राम्रो बन्ने उनले बताए।  

भैरवस्थान पुग्नको  लागि पैयुँपाटाबाट २ किलोमिटर, अमलाचौरबाट तीन किलोमिटर र भकुण्डेबाट तीन किलोमिटर जति सडक सुधार गर्न सकेको खण्डमा दर्शनार्थीहरूलाई सहजता हुने उनी बताउँछन्। पाँच करोडको बहुवर्षीय योजनाले मन्दिरसम्म सडक ग्राबेल गर्न पुग्ने उनले बताए। पछिल्लो समय भैरवस्थान मन्दिरमा पूर्वाधारको विकास भएसंगै त्यहाँ पूजा र दर्शन गर्न पुग्ने दर्शथार्नीहरूको संख्या पनि बढ्दै गएको छ। भैरवस्थानमा पुगेर कालभैरवको पूजाअर्चना गर्नाले सबै मनोकामना पूरा हुने विश्वासका साथ मानिसहरू त्यहाँ पुग्ने गर्छन्।

प्रकाशित: १५ श्रावण २०८२ ११:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App