राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयले विधान परिवर्तन गरेर १५१ केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ । केन्द्रीय कार्यालयमा बिहीबार बसेको सचिवालय बैठकले पार्टी विधानमा वरिष्ठ नेता सहित पदाधिकारीमा महिलाको सहभागितालाई सूनिश्चित गर्नेगरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो ।
‘सचिवालयको बैठकले विधान संशोधन गर्ने निर्णय गरेको छ,’ बैठकपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले भने ‘प्रदेश सभापतिलाई पदेन सदस्य राख्नेगरी १५१ केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।’ विधान संसोधनका लागि केन्द्रीय समितिमा पठाउने निर्णय भएको समेत उनले बताए ।
रास्वपामा हाल १२१ केन्द्रीय सदस्य छन् । सचिवालय बैठकले पदाधिकारी संख्या बढाएर १९ सदस्यीय बनाउने निर्णय गरेको हो । यस अनुसार एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित उपसभापति तीन, महामन्त्री दुई, एक महिलासहित सह–महामन्त्री पाँच, प्रवक्ता एक, एक महिलासहित सह–प्रवक्ता तीन, कोषाध्यक्ष एक, एक महिलासहित सह–कोषाध्यक्ष दुई जना रहने छन् । अहिले रास्वपाको विधानमा पदाधिकारीमा महिला अनिर्वाय उल्लेख गरिएको छैन। विधान संशोधान भएपछि यसपटक उपसभापति, सहमहान्त्री, सह–प्रवक्ता, सह–कोषाध्यक्षमा एक जना अनिर्वाय महिला हुनेछन् ।
भर्खर पार्टी समायोजन भएकाले नेता तथा कार्यकर्ता मिलाउनका लागि पनि महाधिवेशनमा विधान संशोधन गरेर काम गर्नुपर्ने रहेको महामन्त्री बुर्लाकोटीको भनाई छ । रास्वपाले चुनावअघि बालेन शाहसँग एकताको निम्ति सभापति रवि लामिछानेपछि दोस्रो वरीयतामा रहने गरी उक्त पद सिर्जना गरेको थियो ।
चितवनमा यही असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनमा २ हजार ५ सयदेखि ३ हजारसम्म प्रतिनिधि आउने उनले बताए । महाधिवेशनमा सहभागि हुनका लागि सबै प्रतिनिधिले पुरानो पद अनुसारको लेवि तिर्नुपर्नेछ । हरेक जिल्लाबाट एक जना र प्रत्येक प्रदेशबाट तीन जना परिवेक्षक आउने समेत उनले जानकारी दिए । सात प्रदेश मध्ये मधेस प्रदेशमा अधिवेशन स्थिगित छ । जिल्ला अधिवेशन नभएको हकमा केही निर्णय हुन बाँकी रहेको उनले बताए ।
निर्वाचन विद्युतीय माध्यमबाट हुने उनले बताए । महाधिवेशन अगावै विभिन्न पदमा दाबी गर्ने र आवश्यकता भन्दा बढी प्रचारप्रसार देखिएकाले आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन निर्देशन दिने निर्णय गरेको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।
‘पार्टीको महाधिवेशन अगावै आवश्यकता भन्दा बढी प्रचारप्रसार भएको होकि भन्ने पनि आएको थियो । त्यसो नगरी पार्टीलाई सौहार्दपूर्ण रूपमा एकढिक्का राख्नको लागि सबैको योगदान महत्वपूर्ण हुने भएकाले निर्वाचन आचारसंहिताभित्र रहेर सबै सदस्यलाई प्रस्तुत हुन अनुरोध गर्ने निर्णय भएको छ,’–उनले भने ।
महाधिवेशनमा अन्य दलका सभापति र अध्यक्षलाई निमन्त्रणा समेत गरिएको पार्टी प्रवक्ता मनिस झाले जानकारी दिए । ‘हाम्रो ऐतिहासिक प्रथम महाधिवेशनमा अन्य पार्टीका अध्यक्षलाई निमन्त्रणा पठाएका छौँ,’ उनले भने ‘विदेशी कुटनितीक नियोगका पदाधिकारी पनि महाधिवेशनमा आउनुहुन्छ ।’
महाधिवेशनका लागि करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पार्टीको निर्णय सुनाउँदै महामन्त्री कविन्द्र बुर्लाकोटीले सो जानकारी दिएका हुन् । महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुने उनले बताए । रास्वापाले प्रत्येक प्रतिनिधिबाट पाँच हजार रुपैयाँ शुल्क उठाएको छ भने आवासको व्यवस्था आफैँ गर्नुपर्नेछ । रास्वपाले महाधिवेशन समपन्न गर्नका लागि १८ उपसमिति बनाएर काम गरिरहेको छ । अहिले भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन सत्रको लागि मञ्च व्यवस्थापनको कामलाई तिब्र बनाईएको छ । बन्द सत्रका लागि चितवन उद्योग संघको सभाहल निर्माणका लागि उद्योग मन्त्रालयले अनुमती दिएको छ ।
प्रकाशित: ४ असार २०८३ २१:०६ बिहीबार





