१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको सुझाव: आत्मविश्वास राख्नुस्, तर घमण्डले नछोओस्

प्रधानमन्त्री केपी शर्मा ओलीले देशका उदीयमान युवा प्रतिभाहरूलाई सफलतासँगै आउन सक्ने ‘घमण्ड’ प्रति सचेत रहन आग्रह गरेका छन्।

उनले व्यक्तिगत आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा बदल्नुपर्नेमा जोड दिँदै सफलताको शिखरमा पुग्दा पनि आफ्नो आचरण र मेहनतलाई नबिर्सन सुझाव दिए।

सोमबार अकाठमाडौँमा आयोजित ‘चालीस मुनिका चालीस’ युवा सम्मान कार्यक्रममा सम्मानित युवाहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म केही गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ। तर मेरो भनाइ यत्ति हो, युवाहरूले आफूभित्र घमण्ड पस्न दिनु हुँदैन।’

उनले सफलताको यात्रामा विनम्रता र निरन्तरको मेहनत अनिवार्य रहेको बताए। ‘हरेक मान्छेले आफ्नो आचरण, मेहनत र गुणवत्ताको सम्भावनालाई पहिल्याउनुपर्छ,’ प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री ओलीले निराशालाई चिरेर अघि बढ्ने युवाहरू नै देशको भविष्य भएको बताए। ‘निराशाको बादल छाडेर उत्साह र आशामा लागेका युवाहरू छनोट गर्नु निकै कठिन काम हो। म तपाईंहरूलाई बधाई भन्न चाहन्छु,’ उनले भने।

व्यक्तिगत आत्मविश्वासलाई राष्ट्रिय आत्मविश्वासमा रूपान्तरण गर्न सके मात्र देशले सम्पन्नता हासिल गर्ने उनको तर्क थियो। ‘सबैको आत्मविश्वास, प्रतिभा र मेहनतलाई जोडेर नेपालले तीव्रताका साथ सम्पन्नता हासिल गर्दै मानवीय गुणवत्तामा पनि अग्रता लिनेछ,’ प्रधानमन्त्रीले विश्वास व्यक्त गरे।

उनले युवाहरूलाई आफ्नो रुचि र प्रतिभा पहिचान गरेर संघर्ष गर्न नडराउन पनि आग्रह गरे। ‘दुनियाँमा मान्छेहरूले नयाँ-नयाँ सुरुवात युवा अवस्थामै गरेका छन्। संघर्ष गर्नुपरे पनि सहेर, हार नखाइकन काम गर्नुपर्छ। एकदिन सफलतामा पुगिन्छ,’ प्रधानमन्त्रीले भने, ‘धैरे योग्य युवामध्येबाट छानिएका तपाईंहरूको भविष्य अझ ठुल्ठुला सफलता प्राप्तितर्फ अगाडि बढ्दै जाओस्।’

प्रकाशित: २६ श्रावण २०८२ २१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App