नेपाली कांग्रेस कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार अभिषेक प्रताप शाहको चुनावी प्रचारमा भारतबाट आएका एक सांसदले ठूलो अस्पताल निर्माण गर्ने घोषणा गरेका छन्।
भारतको उत्तरप्रदेशस्थित भारतीय जनता पार्टीका नेता तथा सिद्धार्थनगरका सांसद जगदम्बिका पालले शाह निर्वाचित भए भारत सरकारको सहयोगमा यस क्षेत्रमा ठूलो अस्पताल निर्माण गरिने बताएका हुन्।
घरदैलो अभियानमा सहभागी पालले यहाँको इमिग्रेसन व्यवस्थापन र ठूलो अस्पताल निर्माणको माग उठेको उल्लेख गर्दै भने, “तपाईंहरूले अभिषेक प्रताप शाहलाई जिताएर पठाउनुहोस्, म भारत सरकारको सहयोगमा ठूलो अस्पताल निर्माण गर्छु।”
पालले शाहको पक्षमा मतदान गर्न आग्रह गर्दै भिडियो सन्देशसमेत जारी गरेका छन्।
विदेशी जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता र पूर्वाधार निर्माणसम्बन्धी घोषणाले कपिलवस्तु–३ को चुनावी प्रतिस्पर्धालाई थप चर्चा र बहसको केन्द्रमा ल्याएको छ।
प्रकाशित: १८ फाल्गुन २०८२ १८:०४ सोमबार





