नेपाली कांग्रेसमा उपसभापति धनराज गुरुङले अहिलेकै अवस्थामा फागुन २१ गते चुनाव हुन नसक्ने बताएका छन् ।
बिहीबार नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंकको ८ औं केन्द्रीय परिषद् बैठकको विराटनगरमा उद्घाटन गर्दै उपसभापति गुरुङले निर्धारित मितिमा निर्वाचन हुने अवस्था नरहेको बताए ।
उपसभापति गुरूङले सुरक्षा निकायको मनोवल कमजोर भएको र विधिको शासन विपरितका गतिविधिले निरन्तरता पाइरहेका कारण चुनाव सम्भव नरहेको दाबी गरे ।
‘चुनाव, चुनाव भनेर मात्रै चुनाव हुँदैन’ गुरुङले भने ‘दुई चारजनाले भाँडभैलो मच्चाउन खोजे प्रहरीले रोक्ने अवस्था छैन । सुरक्षा निकायको मनोवल कमजोर भएको सेनालाई लेफ्ट राइट गर्नेमात्रै हो भन्ने भाष्य सिर्जना गरिएको अवस्थामा चुनाव हुने सम्भावना देखिँदैन ।’
उनले केही समयलाई भए पनि प्रतिनिधिसभा पुर्नस्थापना गरेर जेन्जी पुस्ताको माग सम्बोधन हुने गरी संविधान संशोधन गरी जेन्जी पुस्तासहितको सर्वपक्षीय सरकार गठन गरेर चुनावमा जानु उचित हुन्छ ।
गुरुङले अहिलेकै संविधान, अहिलेकै व्यवस्था र निर्वाचन पद्दतिबाट स्थिर सरकार कहिलै नबन्ने ठोकुवा गरे । ‘यही संविधान, यही निर्वाचन पद्धतिबाट राजनीतिक स्थायित्व आउँदैन’ उनले भने ‘अहिलेकै अवस्थामा निर्वाचन भइहाले पनि पुरानै नियति दोहोरिन्छ ।’ सरकार बनाउने र भत्काउने क्रमले निरन्तरता पाए, राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलाउँदै जाने हुँदा जेनजी पुस्ताको आन्दोलनको औचित्य समाप्त हुने उनले बताए ।
प्रकाशित: ११ मंसिर २०८२ १८:०० बिहीबार





