निर्णायक तहमा ५० प्रतिशत सहभागिता सुनिश्चत हुनुपर्ने माग राख्दै महिला प्रतिनिधिहरुले सात दलको ध्यानाकर्षण गराएका छन् ।
शुक्रवार नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाल जनता दल, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पाटी, जनता समाजवादी पार्टी लगायत दलको कार्यालयमा पुगी अनुपम अभियानका महिलाहरुले हस्ताक्षर पत्र बुझाएका हुन । राजनीतिक दलको बिधानमै निर्णायक तहमा ५० प्रतिशत महिलाको सहभागिता हुनु पर्ने, तीनै तहको सरकारका सवै तहमा निर्णायक तहमा सहभागिता हुनु पर्ने लगायत माग राखेका छन् ।
बागमती प्रदेशबाट संकलन गरिएको १३ लाख महिलाहरुको हस्ताक्षर सहितको पत्र दलका प्रतिनिधिहरुलाई बझुाइएको अन्तरपुस्ता महिला मञ्चले जनाएको छ ।
हस्ताक्षर बुझाउन गएका महिलालाई एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको नीतिमै महिला सहभागिताको व्यवस्था रहेको जानकारी दिँदै थप व्यवस्थाका लागि सकारात्मक भएको बताइन् ।
अभियानमा महिलाले आफैं नौमती बाजा बजाएर पार्टीका मुख्य नेताहरु भेटेर शान्तिपुर्वक आफ्नो प्रस्ताव राखेको सञ्जालले जनाएको छ । राजनीतिक दल बाहेक निर्वाचन आयोग, सरकार सवैलाई खवरदारी हस्ताक्षर बुझाउने सञ्जालको आगामी कार्यक्रम रहेको छ ।
प्रकाशित: ९ श्रावण २०८२ १९:०९ शुक्रबार





