बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गणतन्त्रभित्र सबैको सोच अट्ने भन्दै संघीयताको सबलीकरण गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्।
प्रदेश सुशासन केन्द्र, बाग्मती प्रदेशले फेडरलिज्म तथा लोकलाइजेसन सेन्टरसँगको सहकार्यमा आइतबार आयोजना गरिएको ‘संघीय लोकतान्त्रिक गणतन्त्र : चुनौती र अवसरहरू’ विषयक अन्तरसंवादमा उनले संघीयताले विकासको असन्तुलनलाई हटाउन धेरै काम गरेको पनि बताएका हुन्।
मुख्यमन्त्री बानियाँले भने, ‘कुनै पनि व्यवस्था रहनु मात्रै चुनौती होइन, व्यवस्थाको मर्मअनुसार काम नहुनु पनि चुनौती हो। चुस्तदुरुस्त शासकीय र प्रशासकीय संरचनासहितको प्रदेशले आमनागरिकको भावना समेट्ने गरी काम गर्छ, लोकतन्त्रमा पात्र र प्रवृत्ति परिवर्तन हुन्छ, यो सुन्दर पक्ष हो। यसलाई सबल बनाउँदै अगाडि बढ्नुपर्छ।’
उनले प्रदेश सरकार बन्नेबित्तिकै गरिबमुखी र जनमुखीलगायत छवटा कुरालाई ध्यान दिएर काम अगाडि बढाइएको जानकारी गराए।
प्रकाशित: १ मंसिर २०८२ ०६:३४ सोमबार





