आगामी फागुन २१ लाई घोषित प्रतिनिधि सभा निर्वाचन केन्द्रित बहस र छलफल हुन थालेका छन् । राजनीतिक दलका युवा पुस्ताले छलफलमा सहभागी हुँदै निर्वाचनलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउन सरकारको भूमिका आवश्यक रहेको सुझाउँदै जवाफदेही बनाउन आवश्यक खबरदारी चाहिने बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले संयुक्त रूपमा आयोजना गरेको लोकतन्त्र र निर्वाचन विषय छलफलमा नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिकमा आन्तरिक परिमार्जनको आवश्यकता रहेको बताउँदै अब दलको उचित नियमन हुनु पर्ने बताए । उनले दलका खर्च नियमन गर्ने प्रणालीको विकास आवश्यक रहेको बताए । मतदान प्रणालीलाई डिजिटल बनाउने, कानुनी पारदर्शिता कायम गर्ने र बैंकिङ प्रणाली र महालेखा परीक्षण मार्फत राजनीतिक दलका खर्च नियमन गर्ने योजनासहित काम हुनुपर्ने सुझाव भट्टराईले राखेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका नेता माधव सापकोटाले जेन-जी आन्दोलनले राजनीतिक दललाई नयाँ पाठ सिकाएको बताउँदै सोही अनुसार अब दल अघि बढ्नुपर्ने बताए । सबै दलहरूलाई साझा जिम्मेवारी बहन गर्ने जिम्मेवारी जेन-जी पुस्ताले दिएको बताउँदै उनले नेपाली कम्युनिष्ट पार्टीले लोकतन्त्र केवल मतदान नभई चेतना र सहभागिताको अभ्यासका रुपमा परिभाषित गर्दै लैजाने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले युवामैत्री निर्वाचन हुनुपर्ने बताउँदै राजनीतिक दललाई जबाफदेही बनाउनु पर्ने, प्रवासी नेपालीहरुलाई मतदान गर्ने वातावरण बनाउनु पर्ने र नागरिक समाज राजनीतिक चलखेलबाट स्वतन्त्र हुनुपर्ने बताए ।
इन्सेकका संस्थापक अध्यक्ष तथा टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले पुस्तान्तरणीय सहकार्यको आवश्यकता औंल्याउँदै नयाँ पुस्ताका आकांक्षा पुरानो पुस्ताको अनुभवले सन्तुलन गर्नुपर्ने बताए । उनले राजनीतिक दलहरूलाई सामूहिक बुद्धिमत्ताको संस्था मानेर व्यक्तिगत स्वार्थभन्दा माथि रहन आग्रह गर्दै राजनीतिक दलहरू सार्वजनिक संस्था भएकाले नागरिकप्रति उत्तरदायी हुनुपर्ने बताए ।
छलफलमा जेन-जी मोभमेन्ट रिभोलुसनका प्रतिनिधि रिजन राना मगरले जेन-जी आन्दोलनका बेला राजनीतिक दलहरूको मौनता र सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्धको आलोचना गर्दै भिजनसहितका काम आजको आवश्यकता रहेको बताए ।
जेन-जी प्रतिनिधि लुजा महर्जनले पैसामा आधारित राजनीति र अन्यायपूर्ण कर नीतिहरू ‘जनविरोधी’ भएकाले आवश्यक सुधारका लागि सरकारसँग माग गरेकी छन् ।
कार्यक्रममा सहभागीहरूले जेनजी पुस्ताको विचारधाराको उत्पत्तिबारे प्रश्न उठाए भने युवाहरूले आफ्नो पुस्ताभित्रकै विभाजन र असमझदारीबारे चिन्ता व्यक्त गरे ।
कानुन व्यवसायी इन्द्र अर्यालले राजनीतिक दलले आत्मआलोचना गर्न आवश्यक रहेको बताए । उनले मसल र मनी विनाको निर्वाचन अपरिहार्य रहेको बताउँदै न्यायालयलाई स्वतन्त्र र राजनीतिक प्रभावविहीन बनाउनु पर्नेमा जोड दिए ।
सहभागी सुधा पोखरेलले युवाको आकांक्षा र चाहनाहरू अझै सम्बोधन नभएको बताएकी थिइन भने अमृत खरेलले पुराना दल सुधार्ने वा नयाँ दल गठन गर्ने विषयमा खुला प्रश्न उठाउँदै पारदर्शिता र विश्वासको अभावलाई मुख्य चुनौती भएको बताइन ।
युवा मानव अधिकारकर्मी बरुण बस्यालले प्रभावकारी लोकतन्त्रका लागि निर्वाचनलाई राजनीतिक र आर्थिक प्रभावबाट मुक्त गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै युथ इनिसिएटिभ (युवा अभियान)का पवन गौतमले चुनाव अवधिमा नेतृत्व अत्यधिक केन्द्रिकृत हुने समस्या औंल्याउँदै दल र युवाबीच सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रममा इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक शिव खुरेलले आगामी निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गर्न सबै पक्षहरूको साँझा जिम्मेवारी रहेको बताए ।
प्रकाशित: २६ कार्तिक २०८२ १७:०३ बुधबार





