अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५ मा ४.३ र सन् २०२६ मा ५.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ।
आइएमएफले मंगलबार ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो। सन् २०२३ मा २ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर सन् २०२४ मा ३.७ प्रतिशत रहेको थियो। यस वर्ष अर्थात् सन् २०२५ मा सामान्य सुधार भई वृद्धिदर ४.३ प्रतिशत पुग्ने आइएमएफले अनुमान गरेको छ।
यस्तै, नेपालले सन् २०२६ मा ५.२ र सन् २०३० मा ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरिएको छ। नेपालको मूल्यवृद्धि सन् २०२५ मा ४.१ र २०२६ मा ४.२ प्रतिशत रहने पनि प्रक्षेपण गरिएको छ।
आइएमएफले यस वर्ष विश्वको आर्थिक वृद्धिदर घट्ने अनुमानसमेत गरेको छ। सन् २०२४ मा ३.३ प्रतिशत रहेको विश्वको आर्थिक वृद्धिदर सन् २०२५ मा ३.२ र २०२६ मा ३.१ प्रतिशत रहने अनुमान गरिएको हो।
प्रकाशित: २९ आश्विन २०८२ ०८:५३ बुधबार





