१५ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

जेन–जीलाई राष्ट्रपतिको आग्रहः निर्वाचन महायज्ञ हो, इतिहास रच्नुस्

राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल पारेर इतिहास रच्न जेन–जी अगुवासँग आग्रह गरेका छन्। बिहीबार अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई समेत राखेर राष्ट्रपति पौडेलले निर्वाचन ‘लोकतन्त्रको महायज्ञ’ रहेको टिप्पणी गर्दै त्यसलाई सफल पार्न युवा पुस्तालाई आग्रह गरेका हुन्।  

‘युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साँच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद मुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको हो,’ राष्ट्रपति पौडेलले भने।  

चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा लिएर आफ्नो प्रतिष्ठासँग जोडेर लाग्न युवाहरूलाई उनले आग्रह गरे। ‘यो चुनावमा तपाईं युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउनुस्, भ्रष्ट र बदमास जित्न नपाउन्, असल र इमान्दारहरू जितेर आउन,’ राष्ट्रपति पौडेलले भने, ‘त्यसपछि देश न्यायको बाटोमा जानुपर्छ, सुशासनको बाटोमा जानुपर्छ र मुलुकले उन्नति गर्नुपर्छ।’  

राष्ट्रपति पौडेलले यो संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभएपनि युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितीमा सरकारलाई समेत सहभागि गराएर जेन–जीका प्रतिनिधिलाई राखेर छलफल गरेको उल्लेख गरे।  

युवाको आन्दोलनकै सम्मानका लागि आफूले संविधानमा भएको राष्ट्रपतिलाई अन्तर्निहित राष्ट्रिय एकता प्रर्वधन गर्ने अधिकार प्रयोग गरेर यो अन्तरिम सरकार गठन गरेको पनि बताए।

सो अवसरमा प्रधानमन्त्री कार्कीले बृद्ध उमेरमा पनि स्वास्थ्यलाई ख्याल नगरी देशको विषम परिस्थितिलाई सम्हाल्न राष्ट्रपति पौडेलले गरेको अथक प्रयासको प्रशंसा गरिन्। राष्ट्रपतिले युवाहरूलाई गर्नुभएको यो आग्रह राष्ट्रपिताको जस्तो भावुक र मार्मिक रहेको उनको टिप्पणी थियो।

राष्ट्रपति पौडेलले कलिलो उमेरदेखि नै देश र जनतका लागि निरन्तर संघर्ष गरेको बताउँदै प्रधानमन्त्री कार्कीले उनी परिपक्क नेता पनि भएको उल्लेख बताइन्।  

छलफलमा सहभागी जेन–जी युवाले आफ्नो आन्दोलन सामाजिक आर्थिक न्यायका लागि कुशासन र भ्रष्टाचार विरुद्ध भएको उल्लेख गर्दै संविधान, लोकतन्त्र, संघीयता, समावेशीता विरुद्ध नरहेको स्पष्ट पारेका थिए। सँगै आफूहरू निर्वाचन हुुनपर्छ भन्नेमा दृढ रहेको पनि बताएका थिए।  

बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबै मन्त्री सहभागी थिए। यस्तै जेन–जीका तर्फबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी सहभागी थिए।  

प्रकाशित: ३० आश्विन २०८२ २०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App