नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवासहित पार्टीका पूर्वपदाधिकारी र लामो समय जिम्मेवारी सम्हालेका नेताहरूलाई महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।
सभापति थापाले देउवा १५औँ महाधिवेशनमा सहभागी नहुने भन्दै विभिन्न तहबाट आएका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताए। उनले गाउँ, वडा र जिल्ला तहमा जिम्मेवारीमा रहेका नेता–कार्यकर्तालाई कुनै अलमलमा नपरी अधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरे।
केही जिल्ला सभापतिले अधिवेशनमा सहभागी नहुने धारणा राखेको भन्दै थापाले पार्टी विधानअनुसार जिम्मेवारीमा रहेका व्यक्ति सहभागी नभए अर्को व्यक्तिलाई जिम्मेवारी दिएर अधिवेशन गराउनुपर्ने अवस्था आउने बताए।
‘अधिवेशनमा सहभागी हुनुहुन्न भने पार्टीको विधानअनुसार यो जिम्मा अरूलाई दिनुपर्छ। जिल्लाको अधिवेशन अरू कसैले गराउनुपर्छ, वडाको अधिवेशन अरू कसैले गराउनुपर्छ। त्यो कहिल्यै पनि गर्नु नपरोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने।
अधिवेशन सुरु हुन अझै केही दिन बाँकी रहेको भन्दै थापाले पार्टीभित्र देखिएका असहमति र अलमल संवादमार्फत समाधान गर्न सकिने बताए। कांग्रेस सबैको साझा पार्टी भएको उल्लेख गर्दै उनले पार्टी निर्माणमा गाउँ तथा वडा तहका कार्यकर्ताको योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको बताए।
थापाले पूर्वपदाधिकारी तथा लामो समय पार्टीमा जिम्मेवारी सम्हालेका नेताहरूलाई पनि महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरे। पार्टीले पूर्वपदाधिकारीलाई छुट्टै सम्मानसहितको स्थान दिने गरेको उल्लेख गर्दै उनले त्यो पदका कारण मात्र नभई उनीहरूप्रतिको विश्वास र सम्मानका कारण भएको बताए।
‘हामीले हुर्काएका, हामीले सिकाएका नयाँ पुस्ताका साथीहरू आएका छन्। सबैलाई जोडेर लिएर जान खोजिरहेका छौँ। हामी सबै एक ठाउँमा आएर जानुपर्छ,’ उनले भने।
देउवासहितका नेताहरूले महाधिवेशनका क्रममा छुट्टै कार्यक्रम गर्नुपर्ने वा अधिवेशनबाट अलग हुनुपर्ने कुनै कारण नरहेको थापाको भनाइ थियो। पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन आफू आवश्यक लचकता अपनाउन र जिम्मेवारीअनुसार काम गर्न तयार रहेको उनले बताए।
प्रकाशित: १ आश्विन २०८३ १६:४२ बिहीबार





