१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

‘एक रुपैयाँ भ्रष्टाचार गरे मोसो दलेर जुत्ताको माला लगाइदिनू’

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बन्ने र चुनिएर जाने प्रतिनिधिहरूले एक रुपैयाँ मात्र पनि भ्रष्टाचार गरेमा उनीहरूलाई सार्वजनिक रूपमा मोसो दलेर जुत्ताको माला लगाउनुपर्ने बताएका छन्।

आइतबार पाँचथरको फिदिम-१३ जेभालेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासन र इमान्दारिताका लागि यो आवश्यक रहेको बताएका हुन्।

साम्पाङले राजनीतिलाई आफूले पूजा र आराधनाको रूपमा लिएको बताए। देश बनाउन भाषणले मात्र नभई कोदालो बोकेर श्रम गर्नुपर्नेमा उनले जोड दिए।

‘हामीले हप्ताको ६ दिन आफ्नो पेट पाल्नका लागि श्रम गरौं, तर हप्ताको कम्तीमा एक दिन देशका लागि श्रमदान गरौं,’ उनले भने, ‘बजेटको अभाव देखाएर काम नगर्ने प्रवृत्तिलाई हामीले चिर्नुपर्छ। ५० लाखको बजेट छ भने श्रमदानमार्फत डेढदेखि दुई करोडको विकास गरेर देखाउने ग्यारेन्टी म लिन्छु।’

उनले आफूलाई यो देशको सबैभन्दा सानो मान्छे भन्दै विचारले भने आकाश छुनुपर्ने तर्क राखे। प्रधानमन्त्री र सरकारको आलोचना गर्दै उनले सिमाना मिचिएको विषयमा सरकार बोल्न डराउनु नहुने बताए।

‘हामी यही माटोमा जन्मिएका हौं र मर्दा पनि यही माटो चाहिन्छ, त्यसैले माटोको रक्षा गर्नु हाम्रो पहिलो धर्म हो,’ उनले थपे।

आगामी निर्वाचनमा आफ्नो पार्टीलाई ‘माटो’ चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै उनले कोशीमा श्रम संस्कृति पार्टीको दुईतिहाइ सरकार आवश्यक रहेको दाबी गरे।

उनले भने, ‘हाम्रो पार्टीमा नेता र कार्यकर्ता हुँदैनन्, हामी सबै श्रमदाता हौं। हामीले ऋण लिएर होइन, आफ्नै पाखुराको बलमा देश बनाउनुपर्छ।’

कार्यक्रममा साम्पाङले स्थानीय ज्येष्ठ नागरिकको हातबाट एक मुठी माटो उपहार स्वरूप ग्रहण गर्दै त्यसलाई नै आफ्नो सबैभन्दा ठुलो मायाको चिनो भएको बताए।

प्रकाशित: २४ जेष्ठ २०८३ १६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App