धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली जनताले आफूलाई सत्ताको नेतृत्व गर्ने अवसर दिए देशमा औजारको क्रान्ति ल्याउने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक दृष्टिकोण र महत्त्वाकाङ्क्षा सार्वजनिक गर्दै उनले उत्पादन र निर्माणको क्षेत्रमा नेपाललाई विश्वमै अग्रणी बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
आफ्नो पार्टीको विस्तार अभियानमा रहेका साम्पाङले पछिल्लो समय सामाजिक सञ्जालमा आफ्ना राजनीतिक अठोटहरू निरन्तर प्रस्तुत गरिरहेका छन्। यसै क्रममा उनले माटोको कसम खाँदै यस्तो बताएका हुन्।
उनले लेखेका छन्, ‘मलाई नेपाली जनताले अनुमोदन गरेर श्रम संस्कृतिलाई सत्ता सुम्पिदिए कसम यो माटोको, विश्व चकित हुने गरी औजारको क्रान्ति ल्याइदिन्छु म ! उत्पादन र निर्माणमा नेपाललाई कुनै मुलुकले भेट्ने छैन !’
धरानमा श्रमदानमार्फत चर्चामा आएका साम्पाङले आफ्नो यही श्रम संस्कृतिको मोडललाई राष्ट्रिय स्तरमा लैजाने अठोट लिएका छन्।
उनले आफ्नो पार्टीले बहुमत पाए गरिब र दुःखी जनताका दिन फर्काउने वाचासमेत गरेका छन्। ‘श्रम संस्कृतिले बहुमत पाएको दिन यो देशमा गरिब दुःखी दिन फर्कने छ ! माटोको कसम भयो ! झुट बोल्ने मान्छे होइन म !’ उनले अर्को पोस्टमा लेखेका छन्।
पार्टी विस्तारका लागि देशव्यापी अभियानमा निस्किएका साम्पाङले भोजपुर, ताप्लेजुङ, तेह्रथुम, मकवानपुर, चितवन लगायतका जिल्लामा कार्यक्रम तय गरिसकेका छन्।
प्रकाशित: १ मंसिर २०८२ २०:१३ सोमबार





