२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

म विशेष महाधिवेशनस्थल गएको भए पार्टी फुट्न सक्थ्योः डा.शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धार अपनाएको बताएका छन् । बिहीबार मोरङ क्षेत्र नम्बर ६ मा पर्ने सुन्दरहरैंचामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउन आफूले शान्त र सौम्य पक्षलाई रोजेको बताएका हुन् ।  

प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई प्रष्ट निकास दिने दाबी गरे । छलफलमा नेता कोइरालाले विशेष महाधिवेशनमा सहभागि नभएको विषयमा प्रष्टाउदै भने, “म विशेष महाधिवेशनमा गएको भए पार्टी बिभाजन हुन सक्थ्यो । पार्टी नफुटोस भनेर मैले बीचको बाटो लिएको हो ।”  

विशेष महाधिवेशन पार्टीको प्रक्रिया भएको बताउदै नेता कोइरालाले भने, “यो पार्टीको एउटा प्रक्रिया हो । आज डिला (डा डिला संग्रौला) जी र म एकै स्थानमा छौं, निर्वाचन दौडमा संगै हिडिरहेका छौं । त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔं ।”  

जेन जी आन्दोलन अघिसम्म यस क्षेत्र र मुलुकको हितमा सांसदको भूमिकामा रहँदा आफुले नीति निर्माणदेखि जनताको जीवन सहज बनाउने सुखद बनाउनेतर्फ केन्द्रीत रहेको कोइरालाले बताए। उनले भने, “सांसद रहँदा संसद भ्रष्टाचारको विरुद्ध र सुशासन ल्याउने पक्षमा बोलिरहें । संसद भित्र र बाहिर लडिरहें ।”  

छलफलमा नेता कोइरालाले सो क्षेत्रको जनताको शिर राष्ट्रिय राजनीतिमा झुक्न नदिएको प्रस्टाए । पार्टी फुटाएर हिड्नु भन्दा पनि पार्टीलाई जोडेर निकास दिनुनै अहिलेको उत्तम विकल्प रहेको उनको बताए । पार्टीलाई नफुटाई निर्वाचनमा एकढिक्का बनाएर लैजाने दायित्व पनि आफूहरुको भएको हुँदा त्यस अनुरुप आफूले विचको बाटो समातेको उनले बताए ।  

कार्यकर्ता भेटघाटका क्रममा नेता कोइरालाले हिजोको दिनमा पार्टीमा भएका कुरालाई स्वीकार गर्दै अब निर्वाचनमा केन्द्रीत हुन जोड दिए । निर्वाचनले मुलुकलाई निकास दिने बताएका उनले यसपटक कांग्रेसलाई जिताउन सबैले एकढिक्का भएर भूमिका खेल्नुपर्ने बताए ।

प्रकाशित: ८ माघ २०८२ १६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App