नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ले विश्वभर बसोबास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न पहल गर्ने बताएका छन्।
एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का अध्यक्ष डिल्ली अधिकारीसहितको प्रतिनिधिमण्डलसँग बिहीबार साँझ भएको भेटमा थापाले नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा समेत नेपाली मूलका नागरिकलाई समेट्ने प्रयास गरेको जानकारी दिए।
भेटका क्रममा एएनओका अध्यक्ष अधिकारीले नेपालको विकास र समृद्धिका लागि विदेशमा रहेका नेपाली मूलका नागरिकबाट लगानी आकर्षित गर्न आवश्यक रहेको धारणा राखे। उनले त्यसका लागि नेपाली मूलमैत्री कानुन निर्माण गर्नुपर्नेमा जोड दिए। साथै, नेपाली संस्कृति मार्फत विश्वभरका नेपालीलाई जोड्ने अभियानमा एएनओ सक्रिय रहेको बताए।
एएनओका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले पनि विश्वभर छरिएका नेपालीलाई ‘नेपालीपन’ का आधारमा जोड्न सरकार र राजनीतिक दलहरूले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए।
छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी र नेपाल लोकतान्त्रिक अपांग महासंघका अध्यक्ष माधव चम्लागाईंको समेत सहभागिता थियो।
एएनओले विश्वका विभिन्न क्षेत्रमा भइरहेका द्वन्द्वका कारण त्यहाँ रहेका नेपाली मूलका नागरिकको सुरक्षा र उद्धारका लागि पहल गर्न पनि ध्यानाकर्षण गराएको छ। विशेषगरी Russia-Ukraine War मा दुवै पक्षका सेनामा संलग्न नेपालीहरूको पहिचान गरी स्वदेश फिर्ता गर्न कूटनीतिक पहल आवश्यक रहेको उल्लेख गरिएको छ।
एएनओले दिएको ध्यानाकर्षण पत्रमा विदेशमा रहेका नेपाली मूलका नागरिकको सुरक्षा, उद्धार तथा रोजगारी व्यवस्थाका लागि सशक्त आवाज उठाउन आग्रह गरिएको छ। साथै, उनीहरूको बौद्धिक, आर्थिक र सामाजिक क्षमतालाई नेपालसँग जोड्न आवश्यक रहेको उल्लेख गरिएको छ।
एएनओ विश्वभर छरिएका नेपाली मूलका नागरिकलाई एकीकृत गर्ने उद्देश्यसहित स्थापना गरिएको संस्था हो। सन् २०२४ मार्चमा थाइल्याण्डको बैंककमा २७ देशका प्रतिनिधिहरूको सहभागितामा यसको केन्द्रीय समिति गठन गरिएको थियो। हालसम्म विभिन्न सात देशमा यसको राष्ट्रिय समिति गठन भइसकेको छ।
प्रकाशित: १२ चैत्र २०८२ १९:५६ बिहीबार





