१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

बोलेर होइन, काम गरेर देखाउँछु: खेलकुदमन्त्री गुप्ता

नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफू भाषण र गफमा भन्दा काममा विश्वास गर्ने बताउँदै नतिजामुखी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आइतबार मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले छोटो समय र सीमित स्रोतसाधनका बीच पनि ठोस योजना बनाएर परिणाम दिने गरी अघि बढ्ने बताए।

‘पहिला कामै गरौँ, काम गरिसकेपछि त्यो निर्णयहरू हामी तपाईंको अगाडि प्रस्तुत गर्ने नै छौँ,’ मन्त्री गुप्ताले भने, ‘हामीसँग छोटो समय छ, स्रोतसाधन पनि थोरै छ, तर काम गर्नुपर्ने र डेलिभरी दिनुपर्ने धेरै छ। त्यसैले हामी काममै केन्द्रित हुन्छौँ।’

उनले विगतमा ‘जो आए पनि बोल्ने मात्र हो, काम गर्दैनन्’ भन्ने जनगुनासोप्रति आफू सचेत रहेको बताए। ‘बोलेर त सबै कुरा बिग्रिएको हो नि,’ उनले भने, ‘त्यसैले म बोलेर होइन, पहिला कामै गरेर देखाउन चाहन्छु।’

खेलकुद क्षेत्र र यससँग सम्बन्धित निकायहरूमा खेलभन्दा चलखेल बढी हुने गरेको गुनासोबारे सोधिएको प्रश्नमा मन्त्री गुप्ताले त्यस्ता विकृतिलाई रोक्न ठोस योजनासहित अघि बढ्ने संकेत गरे।

उनले भने, ‘त्यो विषय हामी प्रस्तुत गर्दै जान्छौँ। हामीलाई काम अगाडि बढाउन दिनुहोस्। हामीले गरेका कामहरू दिनहुँ तपाईंहरूसामु प्रस्तुत गर्नेछौँ।’

मन्त्री गुप्ताले मन्त्रालयको टिमसँग छलफल गरेर नेपालको अवस्थाअनुसार सम्भव हुने र स्रोतसाधनले धान्ने योजनाहरू मात्र अघि बढाउने बताए। ‘नहुने कुरा गर्दिन्छु भनेर भोलि त्यो पूरा भएन भने फेरि पनि आशा मर्छ,’ उनले भने, ‘त्यसैले हामी ग्राउन्ड रियालिटी हेरेर मात्र काम गर्नेछौँ।’

प्रकाशित: ९ कार्तिक २०८२ १७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App