१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

गाउँका बडघर-भलमन्सालाई अब सिंहदरबार पुर्‍याउँछु: रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले आफूलाई विज्ञ ठान्ने एउटा सानो समूहले मात्रै देश चलाउने परम्परा तोड्दै गाउँका वास्तविक अगुवाहरूलाई राज्यको नीति निर्माण तहमा पुर्‍याउने लक्ष्यसहित आफ्नो पार्टी स्थापना भएको बताएका छन्।

बुधबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र बुझेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सीमान्तकृत, आदिवासी, जनजाति, थारू, महिला र पिछडिएका वर्गको हरेक निकायमा सर्वसहभागिता सुनिश्चित गर्न ‘नागरिक उन्मुक्ति पार्टी’ को जन्म भएको सुनाए।

‘पुर्खादेखि गाउँको बिँडो थाम्दै आएका बडघर,भलमन्सा, चिराकी, गुरुवाहरूलाई अब हामी संविधानतः निर्वाचनमार्फत राज्यको शासन प्रक्रियामा पुर्‍याउँछौँ,’ चौधरीले भने, ‘जसले खेत जोतिरहेको छ, ऊ कहिल्यै कृषि मन्त्री हुन पाएको छैन। जो डाक्टर छ, ऊ स्वास्थ्य मन्त्री बन्न पाएको छैन। हामी यो अवस्थालाई चिरेर विज्ञलाई सही जिम्मेवारी र आम नागरिकलाई राज्यसँग जोड्न आएका हौँ।’

उनले आफ्नो पार्टीको मुख्य मुद्दा समुदायमा आधारित समाजवाद भएको बताउँदै आयातित वस्तुमाथिको परनिर्भरता घटाएर स्वदेशी उत्पादन र उद्योगलाई स्थापित गर्ने लक्ष्य रहेको स्पष्ट पारे।

बुधबार आयोगका सचिव महादेव पन्थले पार्टीका संरक्षक चौधरी र अध्यक्ष कवीर सोपलाई दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

‘जाँतो’ चुनाव चिह्न पाएको यो पार्टीले गत कात्तिक १३ गते दल दर्ताका लागि निवेदन दिएको थियो। यो सँगै जेन-जी आन्दोलनपछि दर्ता हुने राजनीतिक दलको संख्या पाँच पुगेको छ।

यसअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी दर्ता भइसकेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म दर्ता भएका दलहरूको कुल संख्या १२६ पुगेको छ।

प्रकाशित: २६ कार्तिक २०८२ १४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App