१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
राजनीति

कुनै दलको सदस्य नबनेकै कारण पटक पटक अवसरबाट बञ्चित भएँ: डा केसी

राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. सुरेन्द्र केसीले लेखकहरूले समाज, राष्ट्र र नागरिकका पीडा तथा समसामयिक यथार्थलाई आफ्नो सिर्जनामा समेट्नुपर्ने बताएका छन्।

राजधानीमा आइतबार आयोजित अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम ‘ग्लोबल अथर अवार्ड २०२६’ लाई सम्बोधन गर्दै उनले साहित्य केवल सिर्जनामा सीमित नभई समाज र राष्ट्रको रूपान्तरणको माध्यम बन्नुपर्ने धारणा राखे।

‘सीमापार साहित्यको उत्सव’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा केसीले देशमा देखिएका विकृति, विसङ्गति र नागरिकका निराशालाई लेखनमार्फत उजागर गर्दै सुधारका लागि आवाज उठाउनुपर्ने बताए।

उनले भने, ‘लेखकहरूले समाज, राष्ट्र र नागरिकका पीडा तथा समसामयिक अवस्थालाई आफ्नो लेखनमा समेट्नुपर्छ। साहित्य केवल सिर्जनामा मात्र सीमित हुनुहुँदैन, यसले समाज र राष्ट्रको रूपान्तरणमा पनि योगदान दिन सक्नुपर्छ।’

लेखकहरूले आफ्नो सिर्जनामार्फत समाजमा सकारात्मक सोच र परिवर्तनको सन्देश दिन सक्नुपर्ने उनको भनाइ थियो।

डा. केसीले नेपालमा सीमित व्यक्तिहरूले पटक–पटक विभिन्न अवसर र जिम्मेवारी पाउने प्रवृत्ति रहेको उल्लेख गर्दै योग्यता र क्षमताका आधारमा सबैले समान अवसर पाउने संस्कार विकास गर्नुपर्नेमा जोड दिए। आफू कुनै पनि राजनीतिक दलको सदस्य नभएकै कारण विभिन्न अवसरबाट वञ्चित हुनुपरेको अनुभवसमेत उनले सुनाए।

आफूले दुई दर्जनभन्दा बढी पुस्तक लेखेको, विद्यावारिधि गरेको, चार हजारभन्दा बढी लेख तथा रचना प्रकाशित गरेको र २० हजारभन्दा बढी अन्तर्वार्ता दिएको उल्लेख गर्दै उनले आफ्नो पहिचान स्वतन्त्र लेखन र अभिव्यक्तिसँग जोडिएको बताए।

उनले भने, ‘नेपालमा एउटा रेडिमेड परम्परा छ, एउटै व्यक्ति पटक–पटक विभिन्न पद र अवसरमा पुग्ने, अरूले अवसर नै नपाउने। योग्यताका आधारमा अवसर पाउने संस्कार हामीले विकास गर्नुपर्छ।’

पुरस्कार, सम्मान तथा अवसर वितरणमा निष्पक्षता र योग्यतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै केसीले योग्य व्यक्तिलाई उचित स्थान दिइए समाजले स्वतः सम्मान गर्ने बताए।

उनले गौतम बुद्धले दिएको शान्ति र सहअस्तित्वको दर्शन स्मरण गर्दै वर्तमान समाजमा शान्ति, सहिष्णुता र सद्भावको आवश्यकता औँल्याए। समाजमा न्याय, प्रहरी, राजनीति तथा अन्य सार्वजनिक संस्थाप्रति असन्तुष्टि बढिरहेको उल्लेख गर्दै उनले यस्ता विषय साहित्य र लेखनमा पनि प्रतिबिम्बित हुनुपर्ने धारणा राखे।

कार्यक्रममा नेपालसहित विभिन्न देशका प्रतिष्ठित लेखक तथा व्यक्तित्वहरूको सहभागिता रहेको थियो। सो अवसरमा विभिन्न विधामा अवार्डसमेत वितरण गरिएको थियो।

इन्फिनिटी सर्भिसेज प्रालिकी संस्थापक शीतल खड्का तथा टोलीको नेतृत्वमा आयोजित कार्यक्रममा नेपाल, भारत, संयुक्त राज्य अमेरिका, सिंगापुर, फिजी, क्यानडा, बंगलादेश तथा संयुक्त अरब इमिरेट्सबाट ४५ जना लेखक तथा सम्मानित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

 

प्रकाशित: १५ कार्तिक २०८३ १६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App