१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
अर्थ

नेपाल चिनाउन टिकटक बनाइँदै

विभिन्न सातवटा मुलुकका कन्टेन्ट क्रिएटर नेपालमा

पोखरा क्षेत्रको पर्यटनलाई समेटेर कन्टेन्ट तयार पार्नका आएका विभिन्न मुलुकका टिकटकरलाई पोखरामा स्वागत गर्दै बोर्ड पदाधिकारी, कर्मचारी र व्यावसायी। तस्बिरः नागरिक

प्राकृतिक विपद्ले थलिएको पर्यटन क्षेत्र उकास्ने उद्देश्य स्वरुप पर्यटन बोर्डले सामाजिक सञ्जाल टिकटक मार्फत नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन थालेको छ। सामाजिक सञ्जाल टिकटक मार्फत गन्तव्य प्रवर्द्धन गर्नका लागि विभिन्न सातवटा मुलुकका कन्टेन्ट क्रिएटर यतिबेला नेपाल आएका छन्। नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा बाँडिएर उनीहरुले कन्टेन्ट तयार पारिरहेको पर्यटन बोर्डले बताएको छ।  

बोर्डका वरिष्ठ प्रवन्धक सुर्य थपलियाका अनुसार विभिन्न सातवटा मुलुकका उनीहरु अहिले तीनवटा समूहमा बाँडिएका छन्। टिकटकले छनोट गरेर पठाएका ती कन्टेन्ट क्रिएटरहरु अहिले बर्दिया, चितवन र पोखरामा बाँडिएर कन्टेन्ट बनाउन थालेका छन्। ती मध्ये पोखरामा तीनजना आएका छन्।  

‘यो बेला नेपालको पर्यटन क्षेत्र निकै नै अप्ठेरोमा परेको छ। विपद्ले नेपालको पर्यटन क्षेत्रमाथि निकै नै असर पारेको छ। पुरै नेपाल प्राकृतिक विपद्ले ध्वस्त भएको भन्ने जस्ता सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाह भएको छ,’ थपलियाले भने, ‘त्यो सन्देश चिर्न पनि यो खालको प्रवर्द्धनले सघाउनेछ। विपद्बारेको सन्देशले झस्किएका पाहुनालाई नेपाल बोलाउन यो प्रवर्द्धनले सघाउने अपेक्षा छ।’

उनका अनुसार ठूलो संख्यामा फलोअर्स रहेका ती कन्टेन्ट क्रिएटरले पहिलो चरणमा सम्बन्धित गन्तव्यलाई चिनाउनेगरि प्रवर्द्धन गर्नेछन्। ‘बर्दिया, चितवन र पोखरामा फरक फरक खालको पर्यटकीय पहिचान छ। ती कन्टेन्ट क्रिएटरले फरक ठाउँलाई त्यहीको पहिचान हुनेगरि प्रवर्द्धन गर्नेछन,’ उनले भने, ‘नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको भन्ने सन्देश उनीहरुमार्फत प्रवाह हुनेछ।’ ठूलो आकारमा फलोअर्स रहेकोले विदेशी पाहुनाले उनै कन्टेन्ट क्रिएटरको कन्टेन्ट हेरेर नेपाल घुम्न आउने अपेक्षा बोर्डको रहेको छ।  

थपलियाका अनुसार पर्यटन बोर्ड र टिकटकबिच सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्नेगरि समझदारी पत्रमा हस्ताक्षर भएको थियो। त्यही सम्झौता बमोजिम ती कन्टेन्ट क्रिएटर नेपाल आएको थपलियाको भनाई छ। नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल टिकटकको संयुक्त सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलादेश र श्रीलंकाका सामग्री निर्माता नेपाल आएका छन्।

‘बोर्ड र टिकटकबिच सम्झौता भए बमोजिम टिकटकले नै छनोट गरेर उनीहरुलाई नेपालमा पठाएको छ। नेपालमा व्यवस्थापन गर्ने जिम्मा बोर्डको हो,’ उनले भने। बोर्डका कर्मचारी नै ती कन्टेन्ट क्रिएटरलाई लिएर विभिन्न गन्तव्यमा गएका छन्।  

बोर्डका अनुसार दुबईबाट सिधै पोखरा आएको टोलीले पोखरा र वरपरका पर्यटकीय आकर्षणमा आधारित सामग्री निर्माण गर्नेछन्। चितवनको टोलीले त्यहाँको वन्यजन्तु, राष्ट्रिय निकुञ्ज, प्रकृति र थारु संस्कृतिमा आधारित अनुभवलाई क्यामेरामा कैद गर्नेछन्। त्यस्तै बर्दिया पुगेको टोलीले त्यहाँको प्राकृतिक वातावरण, वन्यजन्तु र समुदायमा आधारित पर्यटन (होमस्टे आदि) का सम्भावनालाई विश्वसामु पस्कनेछन्।  

थपलियाका अनुसार बोर्ड र टिकटकबिच पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने र त्यसबापत कुनैपनि शुल्क बोर्डले तिर्नुपर्ने छैन। यसअघि पनि बोर्डले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत नेपालको पर्यटन प्रवर्द्धनका क्रममा ठूलो रकम खर्च गरेर विज्ञापन नै गरेको थियो। ‘सरकारले अहिले पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यम प्रयोग गर्ने योजना बनाएको थियो। डिजिटल माध्यमार्फत प्रवर्द्धन गर्न मान्छेको गोजीमै गन्तव्यबारे प्रत्यक्ष जानकारी पुग्छ। त्यसैले यो माध्यम बढि प्रभावकारी हुने ठानिएको छ,’ उनले भने।  

कन्टेन्ट क्रिएयर आफैले विभिन्न तरिकाले भिडियो कैद गर्ने र उनीहरु पोखरामा मात्र नभई आसपासका क्षेत्रमा समेत पुग्नेछन्। पहिलो चरणमा तीनवटा गन्तव्यको कन्टेन्ट तयार पारेका उनीहरु अन्तिममा काठमाडौंमा भेला भएर काठमाडौंको कन्टेन्ट पनि तयार पार्नेछन्।  

पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले नेपालको प्राकृतिक सौन्दर्य, मौलिक कला–संस्कृति, साहसिक गतिविधि र यहाँको विशिष्ट पर्यटकीय अनुभवलाई समेटेर श्रव्य दृश्य (भिडियो) सामग्री तयार पारेर टिकटकमार्फत प्रशारण गर्दा नेपालको पर्यटन क्षेत्र उकास्न सघाउ पुग्ने अपेक्षा रहेको बताए। 

उनका अनुसार पोखरा आएको टोलीले पोखरा क्षेत्र, बेगनास, घाचोक–लाचोकको घानखेत, फेवाताल किनारको आरती, लगायतलाई सामाग्रीमा कैद गर्नेछन। त्यसपछि नजिकैका ग्रामिण पर्यटकीय क्षेत्र र हिमाली भेगलाई पनि कैद गर्नेछन्।  

‘यो पटक त विपद्ले नेपालको पर्यटन क्षेत्र पुरै ध्वस्त भयो भन्ने सन्देश प्रवाह भएको छ। एउटा निश्चित क्षेत्रमा विपद्ल नोक्सान गरेको भएपनि पुरै नेपाल ध्वस्त भएको होईन। तर, सन्देश नराम्रो गएको छ,’ उनले भने, ‘त्यो सन्देश चिर्नका लागि पनि नेपालबारे सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने थियो। त्यही प्रयासस्वरुप अहिले टिकटकले सातजना कन्टेन्ट क्रिएटरलाई नेपाल पठाएको हो।’

पछिल्लो समय सामाजिक सञ्जालमा सर्वसाधारणको पहुँच बढ्दै गएको र पर्यटन क्षेत्रको अवस्थाबारे वास्तविक अवस्था दिलाउन सामाजिक सञ्जाल उपयोगी माध्यम बनेको उनले बताए। ‘अब डिजिटल माध्यमबिना प्रवर्द्धन सम्भव छैन। फिजिकल माध्यम भन्दा पनि डिजिटल माध्यम बढि भरपर्दाे बनेको छ,’ बोर्डका सदस्य पोखरेलले भने।  

प्रकाशित: १५ कार्तिक २०८३ १६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App