१५ कार्तिक २०८३ आइतबार
image/svg+xml
राजनीति

रविलाई गगनको प्रश्न : राम्रो कामको श्रेय पार्टीले लिने, नराम्रो कामको जिम्मेवारी प्रधानमन्त्रीले मात्रै लिनु पर्ने ?

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि सरकारका राम्रा कामको श्रेय लिने तर विवादित कामको जिम्मेवारीबाट पन्छिने गरेको आरोप लगाएका छन्।

आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सभापति थापाले सरकारले गर्ने राम्रो काममा रास्वपा अगाडि आउने तर गलत कामको प्रश्न उठ्दा प्रधानमन्त्रीलाई मात्रै जिम्मेवार देखाउने प्रवृत्तिमाथि प्रश्न गरे।

सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई उल्लेख गर्दै उनले सरकारको कामप्रति रास्वपाले पनि राजनीतिक जिम्मेवारी लिनुपर्ने बताए। थापाले विगतमा कांग्रेस नेतृत्वको सरकारका गलत कामको जिम्मेवारी कांग्रेसले लिनुपर्ने भन्दै प्रश्न उठाउने रास्वपाले अहिले पनि त्यही सिद्धान्त लागू गर्नुपर्ने धारणा राखे।  

सभापति थापाले पत्रकार पक्राउको घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै केही पत्रकार छुट्दैमा विषय समाप्त नहुने स्पष्ट पारे। यस घटनाले सरकारको राज्यप्रतिको दृष्टिकोण, अधिकारको प्रयोग र नागरिक स्वतन्त्रतासम्बन्धी गम्भीर प्रश्न उठाएको उनको भनाइ छ।

प्रहरी र प्रधानमन्त्रीको सचिवालयबाट आएका फरक–फरक वक्तव्यले घटनालाई थप शंकास्पद बनाएको उल्लेख गर्दै थापाले राज्यका निकायलाई निजी आदेश पालना गर्ने संस्थाजस्तो ठान्ने प्रवृत्ति देखिएको आरोप लगाए।

उनले सरकारमा रहेका केही व्यक्तिमा आफू नै राज्य हुँ भन्ने मानसिकता देखिएको टिप्पणी गर्दै शक्तिको स्वेच्छाचारी प्रयोग स्वीकार्य नहुने बताए। थापाले पत्रकार पक्राउ प्रकरणमा वक्तव्य मात्रै जारी गरेर नपुग्ने भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने माग गरे।  

यसका लागि रास्वपाको संसदीय दलको बैठक बोलाएर प्रधानमन्त्रीलाई समेत सहभागी गराउनुपर्ने र बैठकबाट आवश्यक निर्देशन दिएर परिणाममुखी काम गर्नुपर्ने उनको सुझाव छ। 'हामीलाई वक्तव्य होइन, परिणाम चाहिएको छ,' थापाले भने। 

प्रकाशित: १५ कार्तिक २०८३ १६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App