२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

हर्क भन्छन्- म एक दिन प्रधानमन्त्री हुनसक्छु, मलाई प्रश्न सोध्न पाउनुहुन्छ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू भविष्यमा देशको सर्वोच्च कार्यकारी पदमा पुगे पनि नागरिकका प्रश्न सुन्न र उत्तर दिन सदैव तयार रहने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो राजनीतिक यात्रा मन्त्री हुँदै प्रधानमन्त्रीसम्म पुग्न सक्ने सम्भावना रहेको उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले पद र प्रतिष्ठाले आफूलाई जनताबाट टाढा नबनाउने दाबी गरे।

‘म आज सांसद छु, भोलि मन्त्री र एक दिन प्रधानमन्त्री पनि हुनसक्छु,’ उनले भने, ‘तर म जतिसुकै माथिल्लो ओहोदामा पुगे पनि तपाईंहरूलाई मलाई प्रश्न सोध्ने पूर्ण वातावरण र अधिकार दिनेछु।’

साम्पाङले सुशासनका लागि पारदर्शिता अनिवार्य सर्त भएको भन्दै शासकहरू जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए।

उनले आफू जुनसुकै स्थानमा पुगे पनि जनतालाई माया गर्ने र उनीहरूका जिज्ञासाको सामना गर्न कहिल्यै नडराउने स्पष्ट पारे। सार्वजनिक ओहोदामा बस्ने व्यक्तिले नागरिकका प्रश्नबाट भाग्न नहुने उनको तर्क थियो।

यसै सन्दर्भमा उनले प्रधानमन्त्री बालेन शाहलाई समेत प्रेससँग नियमित संवाद गर्न र जनताका प्रश्नको उत्तर दिन सुझाव दिएका छन्।

हप्ता वा महिनामा कम्तीमा एक पटक सञ्चारकर्मीसँग भेटेर सरकारका गतिविधिबारे जानकारी दिनु प्रधानमन्त्रीको दायित्व भएको उनले बताए।

अध्यक्ष साम्पाङले शिक्षा, श्रम र उत्पादनलाई जोड्ने आफ्नो अभियानले नै देशलाई समृद्ध बनाउने र सोही लक्ष्य प्राप्तिका लागि आफू नेतृत्वको तहमा पुग्न चाहेको सुनाए।

उनले नेतृत्वमा पुग्ने व्यक्तिले सधैँ भुइँतहका मानिसहरूको भावना बुझ्नुपर्नेमा जोड दिए।

प्रकाशित: ६ वैशाख २०८३ १७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App