नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको आगामी १५औँ महाधिवेशनलाई लक्षित गरेर क्रियाशील सदस्यहरूमाथि अनावश्यक दबाब सिर्जना भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले पछिल्ला दिनमा पार्टीभित्र विभिन्न प्रकारका हल्ला र भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन्। यस्ता गतिविधिले संगठनभित्र अन्योल र अविश्वास बढाउने उनको भनाइ छ।
खड्काले नवीकरण भएका तथा नयाँ क्रियाशील सदस्यता प्राप्त गरेका कार्यकर्तालाई ‘अद्यावधिक’को बहानामा दबाब दिने काम भइरहेकोबारे देशका विभिन्न स्थानबाट गुनासा आएको उल्लेख गरेका छन्। उनले यस्तो अभ्यासले पार्टीको आन्तरिक लोकतन्त्र र संगठनात्मक संस्कृतिलाई कमजोर बनाउने चेतावनी दिएका छन्।
उनका अनुसार वैधानिक प्रक्रिया पूरा गरी क्रियाशील सदस्यता प्राप्त गरेका सदस्यहरूलाई कुनै पनि अतिरिक्त प्रक्रियाको नाममा महाधिवेशनमा सहभागी हुनबाट रोक्न नमिल्ने स्पष्ट पारेका छन्। योग्य सदस्यहरूको सहभागिता सुनिश्चित गर्नु पार्टीको जिम्मेवारी भएको उनले बताएका छन्।
खड्काले पार्टी एकतालाई मजबुत बनाउन आफूले पछिल्ला दुई महिनादेखि निरन्तर पहल गरिरहेको भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरेका छन्। साथै, आफ्नो र सभापति गगन थापा बीच लामो समयदेखि कुनै औपचारिक संवाद नभएको जानकारी पनि दिएका छन्।
यसैबीच, नेताहरूको क्रियाशील सदस्यता केन्द्रबाट स्वतः अद्यावधिक गरिने भन्ने विषयमा फैलाइएका सूचनाहरूलाई समेत उनले तथ्यहीन र भ्रामक भएको बताएका छन्। पार्टीका सदस्य तथा कार्यकर्तालाई अपुष्ट सूचनाको पछि नलाग्न उनले आग्रह गरेका छन्।
खड्काको अभिव्यक्तिलाई कांग्रेसभित्र महाधिवेशनको तयारी तीव्र बन्दै जाँदा देखिएको आन्तरिक बहस र शक्ति समीकरणसँग जोडेर हेरिएको छ।
सामाजिक सञ्जालमा पूर्णबहादुर खड्का लेख्छन्:
म अन्ततः याे स्टाटस लेख्न बाध्य भएकाे छु =-
विभिन्न सामाजिक संजाल र संचार माध्यममा अाएका विभिन्न भ्रमपूर्ण हल्ला बाट प्रभावित नहुन पार्टीका सबै तहका पदाधिकारिहरु, नेताहरु र क्रियाशिल सदस्य साथीहरु सबैमा म प्रष्ट पार्न चाहान्छु।
सभापति गगन कुमार थापाजि संग मेराे कुनै पनि प्रकृतिकाे
सम्पर्क - संबाद नभएकाे अाज ३१ दिन भयाे ।
२ महिनादेखि पार्टीको सम्पूर्ण एकताकाे लागि ईमान्दार प्रयत्न गर्दा पनि खासै कुनै प्रगति भएकाे छैन।
अहिले अाएर केही दिन यता पार्टीका बारेमा चलाईएका यथार्थ भन्दा फरक हल्ला र बिकसित घटनाक्रम बाट म चिन्तित भएकाे छु !
१५ अाै महाधिबेनका लागि हामीले नबिकरण गराएका र नयाँ क्रियाशिल सदस्य साथीहरुलाई अध्यावधिककाे नाममा दिईएका दबाबका कुराहरु देशैभरिबाट फाेनबाट ४-५ दिन देखि मलाई साथीहरुले जुन तरिकाले जानकारि गराई राख्नु भएकाे छ याे प्रबृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक छ, म सम्बन्धित पक्षकाे गंभीर ध्यानाकर्षण गराउन चाहान्छु।
हामीले १५ अाै महाधिबेशनका लागि नबिकरण गराएका र नयाँ क्रियाशिल सदस्यता लिएका साथीहरुलाई अध्यावधिक नगरेकाे निहुमा कसैलाई १५ अाै महाधिबेशनमा भाग लिनबाट कसैले बन्चित गर्न- गराउन सक्तैन।
सबैलाई महाधिबेशनमा स्वतःभाग लिन पाउने ब्यबस्थाकाे सुनिश्चितता गर्नु हाम्राे जिम्मेवारी हाे - ढुक्क हुनुस!
नेताहरुकाे क्रियाशिल सदस्यता अध्यावधिक स्वतः केन्द्रले गराई दिन्छ भन्ने २ दिन देखि फैलाईएका अफवाहरु पार्टी पङ्तिमा भ्रम पार्न गराईएका हल्ला मात्र हुन् ।
जयनेपाल
प्रकाशित: २४ जेष्ठ २०८३ १९:५८ आइतबार





