१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

रेशम भन्छन्: आफ्नैबाट धोका भयो कि भन्ने महसुस भयो

फाइल।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन पुगेका उनले अध्यक्ष श्रेष्ठले विधानविपरीत कार्यवाहक अध्यक्ष तोकेको भन्दै उक्त निर्णय आफूलाई मन नपरेको र त्यसले धेरैको चित्त दुखाएको बताए।

पार्टी भेलास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै चौधरीले भने, ‘मलाई व्यक्तिगत रूपमा यो अत्यन्तै मन परेको छैन। धेरै व्यक्तिहरूको चित्त पनि दुखेको छ। यो हाम्रो विधानविपरीत छ।’

उनले कुनै पनि व्यक्तिलाई जिम्मेवारी दिनुअघि केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउनुपर्ने प्रक्रिया मिचिएको आरोप लगाए।

जेलभित्रबाट आफूले जन्माएको पार्टीको मर्म, भावना र पीडाले अझै गन्तव्य नपाएको भन्दै उनले भावुक टिप्पणी गरे। ‘गन्तव्य कोबाट मिलेन भन्दाखेरि, आफ्नैबाट मिलेन कि भन्ने महसुस पनि भयो,’ चौधरीले भने।

उनले राजनीतिमा प्रजातान्त्रिक पद्धति भए पनि केही निश्चित मुद्दामा ‘डिक्टेटरसिप’ पनि आवश्यक हुने तर्क गरे। ‘मेरो बच्चा राम्रो छ भन्दैमा उच्छृङ्खल हुन पाइँदैन, अनुशासनमा बस्नुपर्छ,’ उनले भने।

राजनीतिलाई बाघ र मृगको कथासँग तुलना गर्दै उनले भने, ‘राजनीति भनेकै गद्दी हो। त्यो सेवा-सुविधाका लागि हरेक मान्छे लालायित हुन्छन्।’

उनले जनताले स्वीकारे मात्र राजनीति गर्ने र अस्वीकार गरे सहजै हस्तान्तरण गर्न आफू तयार रहेको बताए। पार्टीभित्र देखिएको विवाद र नेतृत्वको प्रश्नबारे राष्ट्रिय भेलाले गम्भीर छलफल गरेर निकास दिनुपर्नेमा उनको जोड थियो।

‘हाम्रो कार्यवाहक अध्यक्ष को हो ? हाम्रो अध्यक्ष को हो ? भनेर कार्यकर्ताले सोध्छन्। यसमा गम्भीर छलफल हुनुपर्‍यो,’ उनले भने।

प्रकाशित: १४ श्रावण २०८२ १६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App