२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

मेरो ठाउँ के भनेर ङार्रङुर्र गर्नुपर्दैन: विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने बताएका छन् ।  

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा प्रेस चौतारीले आयोजना गरेको सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा पौडेलले भने, ‘तपाईँहरूलाई यो ध्रुव मंसिर २९ गतेसम्म जान्छ जस्तो लाग्छ ?’

एमाले पार्टीको आन्तरिक जीवन कुनै समस्यामा नभएको उनले बताए । उपाध्यक्ष पौडेलले भने, ‘हामी सहज ढङ्गले अगाडि बढ्न सक्ने ठाउँमा छौँ, एमाले भित्र जुन ध्रुव देखिएको छ के तपाईँहरूलाई लाग्छ यो मंसिर २९ गतेसम्म रहला ? मंसिर २९ अघि नै यो समाप्त हुन्छ, कुनै ध्रुव रहँदैन।’

उनले एमाले अध्यक्ष केपी ओलीकै नेतृत्वमा फेरी पनि नेकपा एमाले अघि बढ्ने स्पष्ट बताए । ‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरि गोलबद्ध भएर पार्टीलाई एकताबद्ध बनाएर लिएर जाऊँ भन्ने भन्दा नमान्नु पर्ने कुनै विषय देख्दिन, यो सम्भव नै छैन भन्ने पनि मलाई लाग्दैन, प्रतिस्पर्धा भए पनि प्रतिस्पर्धा हुन्छ, नतिजा आउँछ, त्यसलाई मानेर अघि बढ्नु पर्छ’, उनले भने ।  

एमालेलाई निरङ्कुश छ भन्ने भ्रम फिँजाउने प्रयास भइरहेको बताउँदै उनले एमाले आन्तरिक लोकतन्त्रको च्याम्पियन पार्टी भएको दाबी गरे । एमालेले लिने नीति देशको नीति बन्ने उनको भनाइ छ ।  

महाधिवेशनमा सहभागी हुँदा आफू एमालेको सदस्य मात्र हुने बताउँदै पौडेलले आफू लाखौँ कार्यकर्ता जस्तै कार्यकर्ता भएको बताए । ‘मेरो स्थान के भन्दा पनि पार्टीको स्थान के भनेर सोच्नु पर्छ, मेरो ठाउँ के भनेर ङार्रङुर्र गर्नुपर्दैन, हजार जना कार्यकर्ता भित्र परिहाल्छु, त्यही बसेर काम गर्दा हुन्छ, केही फरक पर्दैन’, उनले भने ।  

पौडेलले आजसम्म पार्टीमा पाएको जिम्मेवारी मागेर नलिएको पनि बताए । उनले भने, ‘पार्टीले उचित जिम्मेवारी दिन्छ, मैले के पाउँछु भनेर आजसम्म सोचेको छैन । म महासचिवको उम्मेदवार होइन, म यस अघि नै महासचिव भएर काम गरिसकेको मान्छे हु, ११ औँ महाधिवेशनमा मेरो उम्मेदवारी हुन्छ तर अध्यक्ष महासचिव बाहेकमा हुन्छ, मैले अध्यक्षमा केपी ओलीलाई समर्थन गरिसकेको छु, महासचिव पहिला नै भइसकेको छु, त्यसैले काहीँ न काहीँ उम्मेदवारी त हुन्छ, तर त्यो पछि नै तय हुन्छ।’

नेकपा एमाले विरुद्ध चौतर्फी घेराबन्दी भएको बताउँदै पौडेले तर ती घेराबन्दी गर्नेलाई जनताले तोड्ने बताए । उनले भने, ‘एमाले नपुगेको कुनै वडा र टोल छैन, हामी एमाले नपुरेको घर छैन भन्ने ठाउँमा यो पार्टीलाई पुर्‍याउने अभियानमा छौँ।’

प्रकाशित: १७ मंसिर २०८२ १७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App