२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

गगन भाइलाई सभापति भन्न मनै लागेको छैन: कृष्ण सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगले ‘लहड’मा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाएका छन्।

नेपाली कांग्रेसको इतरपक्षको भेलालाई सम्बोधन गर्दै सिटौलाले निर्वाचन आयोगले गरेको निर्णयप्रति प्रश्न उठाउँदै आधिकारिकता दिने आयोगका पदाधिकारीको भूमिकामाथि समेत प्रश्न उठाए।

उनले विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा बनेको कार्यसमितिलाई आफूहरूले आधिकारिक मान्न नसकेको बताए। व्यक्तिगत पूर्वाग्रहका कारण नभई पार्टी विधान र प्रक्रियाविपरीत विशेष महाधिवेशन आयोजना गरिएको उनको दाबी थियो।

“गगन भाइलाई सभापति भन्न मनै लागेको छैन। विशेष महाधिवेशनलाई मान्यता दिन सकिएको छैन। अराजक ढङ्गबाट गरिएको छ। व्यक्तिगत पूर्वाग्रह होइन। विधानविपरीत छ,” सिटौलाले भने।

सिटौलाले निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गर्दा पार्टीको विधान, प्रक्रिया र सम्बन्धित पक्षको दाबीबारे पर्याप्त अध्ययन नगरेको आरोप लगाए। उनले आयोगको निर्णयमा संलग्न आयुक्तको भूमिकामाथि समेत प्रश्न उठाए।

यसअघि राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पनि सिटौलाले निर्वाचन आयोगको निर्णयप्रति प्रश्न उठाएका थिए। “गगनजीहरू जानुभयो, सभापति भएँ भन्नुभयो। यत्ति भनेका आधारमा आयोगले प्रमाणपत्र दिन पर्दैन? शेरबहादुरलाई सोध्न पर्दैन?” उनले प्रश्न गरेका थिए।

सिटौलाले विशेष महाधिवेशन र त्यसबाट भएका निर्णयलाई लिएर देखिएको विवाद कानुनी प्रक्रियाबाट समाधान हुने विश्वास व्यक्त गरे। सर्वोच्च अदालतबाट निस्सा प्राप्त भएपछि न्याय पाउने विश्वास बढेको उनको भनाइ थियो।

उनले पार्टीभित्र देखिएको विवादलाई थप जटिल बनाउनेभन्दा भएका गल्ती सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए। कांग्रेसलाई विधि, विधान र प्रक्रियाअनुसार अघि बढाउन नेतृत्व र कार्यकर्ताले आत्मसमीक्षा गर्दै विवाद समाधानको बाटो खोज्नुपर्ने उनको सुझाव थियो।

प्रकाशित: २९ श्रावण २०८३ १८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App