राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफूले सभामुखको निर्देशन अवज्ञा गर्दै संसद् बैठक बहिष्कार नगरेको स्पष्टीकरण दिएकी छन्।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू रिसाएर नभई शौचालय जानका लागि बाहिरिएको दाबी गरिन्।
झोला बोकेर बैठक कक्षबाट बाहिरिएको विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा उनले भनिन्, ‘म झोला बोकेर पिसाब फेर्न जान नपाउने ? म रिसाएर हिँडेको होइन, शौचालय गएको हुँ।’
संसद्मा रिसाएको मुद्रामा प्रस्तुत भएको विषयमा उनले जनताका मुद्दाको भार बोक्दा विभिन्न भाव आउनु स्वाभाविक भएको बताइन्।
‘मान्छे भएर जन्मेपछि अनुहारमा विभिन्न भाव आउँछ। कहिले हाँसिन्छ, कहिले रुन मन लाग्छ, कहिले आक्रोशित भइन्छ,’ उनले भनिन्, ‘जनताका मुद्दाहरूको भार टाउकोमा हुँदा अनुहारमा त्यस्तै भाव देखिन सक्छ।’
विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकहरूको शव ल्याउने विषयमा कार्यविधि नबनेकोप्रति आफ्नो आपत्ति रहेको उनले दोहोर्याइन्। ‘शव व्यवस्थापनका लागि १५ करोड बजेट विनियोजन भइसकेको छ, तर कार्यविधिको अभावमा कार्यान्वयन हुन सकेको छैन,’ उनले भनिन्।
पार्टीभित्रैबाट भएको आलोचना र कारबाहीको सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘म जनताका मुद्दा सुन्नमै व्यस्त छु, कसले के भन्यो भनेर हेर्ने फुर्सद मलाई छैन। म त सबैकी आशिका दिदी हुँ, मलाई अरूले कारबाही गर्दैनन्।’
यसअघि प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीहरूको शव फिर्ता ल्याउने विषयमा कार्यविधि बनाएर प्रक्रिया अघि बढाउने जवाफ दिएका थिए। मन्त्रीको उक्त भनाइप्रति सांसद तामाङले तत्कालै उभिएर विरोध जनाएकी थिइन्।
सभामुखले स्पष्टीकरणको व्यवस्था नरहेको भन्दै मर्यादामा रहन र बस्न निर्देशन दिए पनि सांसद तामाङ झोला बोकेर बैठक कक्षबाट बाहिरिएकी थिइन्।
उनले कम्बोडियामा ज्यान गुमाएका धादिङका सन्तोष राईको शव ३७ दिन बितिसक्दा पनि स्वदेश ल्याउन नसकिएको भन्दै सरकारको कार्यशैलीप्रति तीव्र आक्रोश व्यक्त गर्दै आएकी थिइन्।
प्रकाशित: ३ भाद्र २०८३ १७:०७ बुधबार





