५ श्रावण २०८३ मंगलबार
image/svg+xml
राजनीति

बाँदर लखेट्दा घाइते भएकाको निःशुल्क उपचार गर्न माग गर्दछु : सांसद राई

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले बाँदर लखेट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका खोटाङका एक नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन्।

संसद्‌मा बोल्दै उनले देशमा बाँदर आतंकको व्यवस्थापन कहिले हुन्छ भन्दै सरकारलाई प्रश्न समेत गरेका हुन्।

उनले खोटाङकी टिपसरा राई आफ्नो बाली खान आएको बाँदर लखेट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएको र उनको मेरुदण्ड तीन ठाउँमा भाँचिएको जानकारी गराए। उनका अनुसार राईको हाल केएमसी अस्पतालमा उपचार भइरहेको छ। घाइतेको आर्थिक अवस्था कमजोर रहेकाले सहयोगी हातहरूबाट रकम उठाएर उपचार भइरहेको भन्दै उनले भने, ‘सभामुख महोदय, म घाइतेको निःशुल्क उपचारको माग गर्दछु।’

किसानका समस्याप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै राईले थपे, ‘कृषि र किसान बिना कसरी स्वाधीन राष्ट्र र स्वाधीन अर्थतन्त्रको परिकल्पना गर्न सकिन्छ, म सरकारलाई सोध्न चाहन्छु।’

यसैगरी, उनले केही दिनअघिको वर्षाका कारण खोटाङ र भोजपुर जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत पंकु खोलाको सडक भत्किँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए। 

प्रकाशित: २९ जेष्ठ २०८३ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App