यातायात व्यवस्था कार्यालय बाँकेले डाटाबेस माइग्रेसन तथा नयाँ दररेट प्रणाली प्रविष्टि (इन्ट्री) र मिलानको काम भइरहेकाले अत्यावश्यक कामबाहेकका सेवाग्राहीलाई एक सातापछि मात्रै कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रणालीलाई सेवाग्राहीमैत्री र थप व्यवस्थित बनाउने उद्देश्यले डाटाबेस माइग्रेसन तथा प्रदेश सरकारले तोकेको नयाँ करका दररेट प्रविष्टि र मिलानको काम भइरहेको जनाएको छ।
सो प्रक्रिया पूरा हुन करिब एक सातासम्म लाग्ने भएकाले अत्यावश्यक कामबाहेकका सेवाग्राहीलाई साउन ८ गतेपछि मात्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको हो। कार्यालयका अनुसार प्रणाली अद्यावधिक गर्ने क्रममा सेवा प्रवाह प्रभावित हुन सक्ने भएकाले अनावश्यक भिड कम गर्न यस्तो आग्रह गरिएको हो। यस अवधिमा सवारी दर्ता, नवीकरण, नामसारी, चालक अनुमतिपत्र तथा अन्य यातायातसम्बन्धी सेवामा केही असहजता हुन सक्ने जनाइएको छ। सेवाग्राहीलाई अत्यावश्यक काम नभए केही दिन प्रतीक्षा गरी सेवा लिन आउन आग्रह गरिएको छ।
यातायात व्यवस्था कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख टंकनाथ खनालद्वारा हस्ताक्षरित सूचनामा सेवा प्रवाहमा परेको असुविधाप्रति क्षमायाचनासमेत गरिएको छ। साथै यही विषयमा यातायात व्यवस्था विभाग, मीनभवन, काठमाडौंले पनि साउन ४ गते सार्वजनिक अनुरोध जारी गरिसकेको उल्लेख गर्दै सोहीअनुरूप सेवाग्राहीलाई जानकारी गराएको जनाइएको छ। कार्यालयले प्रणाली अद्यावधिकपछि सेवा प्रवाह अझ छिटो, सहज र व्यवस्थित हुने विश्वास व्यक्त गरेको छ। सेवाग्राहीलाई आवश्यक जानकारीका लागि कार्यालयको आधिकारिक माध्यमबाट प्रकाशित सूचनालाई आधार मानी कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।
प्रकाशित: ५ श्रावण २०८३ ०९:५९ मंगलबार

