प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेपछिका सुरुवाती दिनहरू निकै तनावपूर्ण र कठिन रहेको बताएकी छन्।
नागरिक न्युजको विशेष संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले देशको विषम परिस्थितिका बिच सरकारको नेतृत्व सम्हाल्दा सुरुवाती १०–१५ रात राम्रोसँग निदाउन समेत नसकेको अनुभव सुनाइन्।
‘सुरुसुरुमा १०–१५ रात त राम्रोसँग निदाउन पनि सकिएन होला,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिले ४-५ दिन यता चाहिँ अलिकति हलुका–हलुका फिल भएको छ। तर हलुका भन्नाले पनि त्यस्तो खासै त होइन।’
उनले पद सम्हाल्ने बित्तिकै जेन-जी आन्दोलनका क्रममा मारिएका परिवार र घाइतेहरूको पीडा र व्यवस्थापनमा लाग्नुपरेको बताइन्।
‘झट्ट आउनेबित्तिकै २३ गते मारिएकाहरूको परिवार, घाइते र जेन्जीहरूसँग भेट भयो। एउटा सन्तान मारिएको, दुईटा सन्तान गुमाएका आमाबुवाहरू बालुवाटारमा आएर रुने–कराउने गर्दा म आफैँ पनि एक–डेढ हप्ताजति असाध्यै भावुक भएँ,’ उनले भनिन्।
प्रधानमन्त्री कार्कीले सुरुमा चार जना मन्त्री मात्र हुँदा सबै मन्त्रीहरू मृतक परिवारलाई क्षतिपूर्ति दिलाउन र घाइतेको उपचार व्यवस्थापनमा केन्द्रित भएको स्मरण गरिन्।
अहिले भने बिस्तारै मन्त्रालयका प्रशासनिक, सुशासन र दैनिक कामकाजहरू लयमा फर्किँदै गएको उनको भनाइ छ।
पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीले आफूले प्रधानमन्त्री बन्छु भनेर कहिल्यै नसोचेको तर देशको तत्कालीन विषम परिस्थितिले बाध्यात्मक रूपमा यो जिम्मेवारी काँधमा आइपरेको बताइन्।
‘जेन्जीका युवाहरू, राष्ट्रपतिज्यू र सबैतिरबाट तपाईंले गर्दा मुलुक बन्छ, तपाईं स्वतन्त्र हुनुहुन्छ, नकार्न पाउनुहुन्न भनेर दबाब आएपछि मुलुककै लागि म पन्छिन सकिनँ,’ उनले स्पष्ट पारिन्।
उनले आफ्नो नेतृत्वको सरकारलाई विदेशीले बनाइदिएको भन्ने आरोपको खण्डन गर्दै भनिन्, ‘देश सिद्धिएको भ्रष्टाचारले हो, अरू कुनै विदेशी तागत वा शक्तिले होइन।’
प्रधानमन्त्री कार्कीले आगामी निर्वाचन गराउन सरकार पूर्ण प्रतिबद्ध रहेको र सबै दलहरू तयार रहेको समेत जिकिर गरिन्।
हेर्नुहोस् पूरा अन्तर्वार्ता :
प्रकाशित: ३ मंसिर २०८२ २१:४९ बुधबार





