४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

शासकीय आकांक्षा बोकेर होइन, संविधानलाई ट्रयाकमा ल्याउन प्रधानमन्त्री बने: कार्की

प्रधानमन्त्री सुशिला कार्कीले आफू पदको लालसाले नभई मुलुकलाई संकटबाट बचाउन र बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्रयाकमा ल्याउन प्रधानमन्त्री बनेको बताएकी छन्।

जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीले सोमबार राष्ट्रिय सभाको बैठकलाई पहिलो पटक सम्बोधन गर्दै यस्तो बताएकी हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको समयमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफ्नो सरकार आतुर रहेको सुनाइन्।

‘म कुनै शासकीय आकांक्षा बोकेर वा पदको लालसा लिएर प्रधानमन्त्री भएकी होइन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्रयाकमा ल्याउन, देशलाई थप द्वन्द्वमा फस्न नदिन र जनधनको क्षति रोक्न परिवर्तनकारी युवा, राजनीतिक दल र सम्माननीय राष्ट्रपतिको छलफलका आधारमा यो विषम परिस्थितिमा जिम्मेवारी लिएकी हुँ।’

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन युवाहरूको नेतृत्वमा भएको ऐतिहासिक विद्रोह भएको बताउँदै उनले यसलाई मुलुकमा व्याप्त भ्रष्टाचार, राज्य सञ्चालनमा देखिएको संवेदनहीनता र बेथितिविरुद्धको चेतनाको रूपमा व्याख्या गरिन्।

प्रधानमन्त्री कार्कीले आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरूप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिन्। उनले भनिन्, ‘आन्दोलनमा सहादत प्राप्त गर्नुभएका सहिदप्रति सम्मान प्रकट गर्दै परिवारमा परेको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु।’ सरकारले आन्दोलनका मृतकलाई सहिद घोषणा गरी परिवारलाई राहत उपलब्ध गराउने र घाइतेहरूको उपचार तथा जीविकालाई प्राथमिकतामा राखेको उनले जानकारी दिइन्।

उनले मुलुकको आर्थिक रूपान्तरण र युवाहरूको भविष्यका लागि सुशासन र भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताउँदै भ्रष्टाचार न्यूनीकरण सम्बन्धी रणनीतिक योजना अन्तिम चरणमा पुगेको समेत सदनलाई जानकारी गराइन्।

प्रधानमन्त्री कार्की २०८२ भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्। उनले हालै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरूलाई बधाई दिँदै कार्यकाल पूरा गरी विदा हुने सदस्यहरूलाई धन्यवाद समेत ज्ञापन गरिन्।

प्रकाशित: १९ माघ २०८२ १४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App