नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफू अपर्झट मन्त्री बनेको र अब आफ्नो सम्पूर्ण समय मन्त्रालयकै काममा समर्पित गर्ने बताएका छन्।
सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूलाई कुनै सेवा-सुविधा नचाहिने र मन्त्रालयमै बसेर काम गर्ने रमाइलो टिप्पणी गरे।
‘अपर्झट यहाँ आएर मन्त्री भइएको छ, सेवा सुविधा मलाई केही पनि चाहिँदैन,’ मन्त्री पुनले भने, ‘म त अब मन्त्रालयमै बस्ने हो, त्यहीँ ओछ्यान लाउने हो।’ उनको यो भनाइले उपस्थित पत्रकार र सर्वसाधारणमा हाँसोको फोहोरा छुटेको थियो।
आफू राजनीतिक क्षेत्रको अनुभवी व्यक्ति नभएको स्वीकार्दै उनले तत्काल कुनै ठूलो घोषणा गर्ने अवस्थामा नरहेको बताए। ‘म शिवजी वा भगवान् भएको भए त्रिनेत्र लगाएर यो-यो गर्छु भन्थेँ होला,’ उनले भने, ‘किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि अपर्झट अहिले नै यो गर्छु भन्ने कुरा नसोध्नुस्।’
तर, उनले आफ्नो प्राथमिकता भने स्पष्ट पारे। ‘मरो प्राथमिकता त विज्ञान, प्रविधि, नवप्रवर्तन, व्यावहारिक अनुसन्धान नै हो,’ उनले भने, ‘तर मन्त्रालयमा शिक्षा पनि जोडिएको छ, त्यसैले यसबारे विज्ञहरूसँग सल्लाह-सुझाव लिएर छिटोभन्दा छिटो कार्यान्वयनमा जानेछु।’
उनले विगतमा आफूले युवाहरूलाई आफ्नो बुद्धि लगाएर जे सुकै गर भनेको स्मरण गर्दै अब मन्त्रीको रूपमा पनि युवाहरूलाई कसैको पछि नलागी आफ्नो विवेक प्रयोग गर्न प्रेरित गर्ने बताए।
‘हरेक युवाले आफ्नो बुद्धिले काम गर्ने हो, आफूलाई जे गर्न मन लाग्छ र जे गर्न सकिन्छ, त्यो गर्ने हो,’ उनले भने।
प्रकाशित: ६ आश्विन २०८२ १६:१७ सोमबार





