२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

म बुद्धि कम, इमान बढी भएको मान्छे हुँ: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबैभन्दा ठूलो कमजोरी मानिसहरूलाई सजिलै विश्वास गर्नु रहेको बताएका छन्।

उनले आफ्नो यहिं बानीका कारण कहिलेकाहीँ धोकासमेत खाने गरेको उल्लेख गरे। वरिष्ठ पत्रकार विजय कुमार पाण्डेसँगको अन्तर्वार्तामा बोल्दै उनले आफूलाई ‘बुद्धि कम तर इमान बढी भएको’ व्यक्तिका रूपमा चित्रण गरे।

‘म मान्छेले भनेपछि विश्वास गर्छु र कहिलेकाहीँ धोका खान्छु।’ उनले आफूलाई कुनै विशेष वा असाधारण खेलाडी नमान्ने बताउँदै थपे, ‘म हरेक गोल मिस नगरी पोस्टमा हान्ने खेलाडी होइन, मेरा थुप्रै गोलहरू मिस हुन्छन्।’

आफ्नो व्यक्तित्वको थप विश्लेषण गर्दै उनले सुनाए, ‘म आफूलाई कुनै विशिष्ट व्यक्तित्व, विशिष्ट जानकार वा विशिष्ट बुद्धिमान त्यस्तो केही ठान्दिनँ। म अलि बुद्धि कम भएको मान्छे हुँ, इमान बढी भएको।’

अध्यक्ष ओलीले आफूले नेतृत्व सम्हाल्दा राष्ट्रिय हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गरेको दाबी गरे। ‘मैले देशप्रति इमानदार रहनुपर्छ भन्ने मान्यता राखेको छु र त्यस मूल्यमा सधैँ अडिग रहेको छु,’ उनले भने।

विश्व र नेपालको वर्तमान अवस्थाप्रति पनि प्रधानमन्त्री ओलीले टिप्पणी गरे। उनका अनुसार, भौतिक रूपमा विश्वले ठूलो प्रगति गरे पनि स्वार्थ, अहंकार र हिंसात्मक प्रवृत्तिका कारण मानवताले दुःख पाइरहेको छ।

‘मान्छे अनावश्यक स्वार्थी भयो र मानवतालाई कम महत्व दिन थाल्यो,’ उनले भने, ‘यो प्रगतिलाई समग्र मानव जातिको हितमा प्रयोग गर्न सकिएको भए संसार साँच्चै सुन्दर हुन्थ्यो।’

प्रकाशित: १ श्रावण २०८२ १४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App