३० श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

नयाँ दल खोल्ने पक्षमा छैन, शेखरजी उठे सभापतिमा सहयोग गर्छु: डा. शशांक

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा विल्कुलै नरहेको बताएका छन्।

आगामी १५ औं महाधिवेशनमा पार्टी सभापतिको दौडमा आफ्नो पनि आकांक्षा रहेको खुलाउँदै उनले नेता डा. शेखर कोइराला अघि बढेको खण्डमा आफूले पूर्ण सहयोग गर्ने बताएका हुन्।

शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता कोइरालाले सभापति बन्ने व्यक्तिगत चाहना भए पनि साथीहरूको सल्लाह र परामर्शपछि मात्र अन्तिम निर्णय लिने बताए।

‘पार्टी सभापतिको लागि म पनि इच्छुक त छु, तर मैले इच्छा गरेर मात्र हुँदैन। पहिले साथीहरूको भनाइ सुन्नुपर्‍यो, अनि मात्र म निर्णय गर्छु,’ उनले भने, ‘शेखरजी र मबीच धेरै राम्रो समझदारी छ, उहाँ सभापतिमा उठ्नुभयो भने म सहयोग गरिहाल्छु।’

पार्टीभित्रको विवाद वा अदालतको सम्भावित फैसलापछि नयाँ दल गठन हुनसक्ने चर्चालाई खण्डन गर्दै उनले विभाजनको सम्भावनालाई नकारे।

‘म अर्को पार्टी खोल्ने वा पार्टी फुटाउने पक्षमा विल्कुलै छैन,’ उनले भने, ‘जस्तोसुकै परिस्थिति आए पनि आपसमा छलफल र संवाद गरेरै अघि बढ्छौं।’

कांग्रेसको आगामी कार्यदिशाबारे धारणा राख्दै नेता कोइरालाले मुलुकमा सैद्धान्तिक बहस समाप्त भइसकेकाले अब कांग्रेसको मूल ध्यान विकास र समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

‘संविधान प्राप्त भइसकेको अवस्थामा अब हाम्रो मुख्य काम देशको विकास कसरी गर्ने भन्ने नै हो,’ कोइरालाले भने, ‘अबको कांग्रेस नयाँ, संगठित र नयाँ दिशामा अघि बढ्ने हुनुपर्छ।’

प्रकाशित: ३० श्रावण २०८३ १७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App