२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

म गेरु वस्त्र नलगाएको जोगी हुँ, व्यक्तिगत श्रीसम्पत्ति छैन: महावीर पुन

पुर्व शिक्षामन्त्री एवं म्याग्दी क्षेत्र नम्बर-१ का स्वतन्त्र उम्मेदवार महावीर पुनले आफूलाई गेरु वस्त्र नलगाएको जोगीका रूपमा चित्रण गरेका छन्।

चुनावी अभियानका क्रममा म्याग्दीका मतदाताहरूसँग मत माग्दै पुनले आफ्नो कुनै व्यक्तिगत सम्पत्ति वा स्वार्थ नभएको र केवल देश विकासको हुटहुटीले राजनीतिमा आएको सुनाए।

पुनले भने, ‘म त एउटा जोगी जस्तो मान्छे हुँ, जसको आफ्नो भन्नु केही छैन। गेरु वस्त्र मात्रै नलगाएको हो, तर मेरो चालढाल जोगीकै छ। जहाँ जान्छु, जे दिन्छन् त्यही खान्छु, जहाँ ठाउँ मिल्छ त्यहीँ सुत्छु। न मेरो श्रीसम्पत्ति छ, न त कमाउने लोभ नै।’

पुनले आविष्कार केन्द्र र उद्योगहरू सञ्चालनका लागि बजेट जुटाउन आफ्नो आत्मकथा बेचेर रकम संकलन गरिरहेको विषयलाई पनि स्मरण गराए।

उनले राज्य संयन्त्रप्रति कटाक्ष गर्दै भने, ‘मैले किताब बेचेर उद्योगमा लगानी गरेको देखेपछि सायद सरकारको बुद्धि आउँछ कि भन्ने आशा राखेको छु।’

लामो समयदेखि खोज, अनुसन्धान र प्रविधिको क्षेत्रमा सक्रिय पुनले यसपटक नीति निर्माण तहमा पुगेर देशको उत्पादन र अर्थतन्त्रमा ठोस योगदान पुर्‍याउने लक्ष्यका साथ म्याग्दी-१ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

उनले आफूले चुनाव जितेमा व्यक्तिगत लाभभन्दा माथि उठेर राष्ट्रिय आविष्कार र स्वरोजगारका एजेन्डालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल र स्थलगत भेटघाट दुवै माध्यमबाट उनले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्।

प्रकाशित: ३ फाल्गुन २०८२ १५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App