प्रधानमन्त्री सुशीला कार्कीले आफू अचानोजस्तो भएको बताएकी छन्।
एक पक्षले तिमीहरूको काम निर्वाचन गराउने मात्रै हो, सुशासन हेर्ने होइन, भ्रष्टाचार पनि होइन, छानबिन पनि होइन भन्छ भने एउटाले आएर खबरदारी गर्छ भने जेनजीले भ्रष्टाचार पनि हेर, सबै हेर भन्छ भन्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन्।
'हामी त अचानोजस्तो भयौं। एक पक्षले भन्छ- तिमीहरूको काम निर्वाचन गराउने मात्रै हो, सुशासन हेर्ने होइन, भ्रष्टाचार पनि होइन, छानबिन पनि होइन। एउटाले आएर खबरदार छ– त्यो सुशासन पनि हेर, जेनजीले भनेको छ– भ्रष्टाचार पनि हेर, सबै हेर। भएजति गर,' ‘नागरिक फ्रन्टलाइन’ को बुधबारको शृंखलाका निम्ति प्रधानमन्त्री कार्कीले नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको विशेष कुराकानीमा भनिन्, 'हुँदाहुँदा अहिले मेलम्ची पनि जागेको छ। बञ्चरेडाँडो पनि जागेको छ। आन्दोलन सबै जागेका छ। यतिबेला सबैले सबैथोक पाएका छन्, जब कि हामी त्यस्तो शक्तिशाली सरकार होइनौं। जनताबाट भोट पाएर एकदम पावर लिएर आएका होइनौं।'
कार्की नेतृत्वको सरकार यतिबेला जोडतोडका साथ निर्वाचन तयारीमा लागेको छ। गत भदौ २३ को जेनजी आन्दोलन र त्यसको भोलिपल्ट मुलुकमा भएको तोडफोड, आगजनी र विध्वंसको स्थितिमा बनेको नागरिक सरकारलाई दैनिक प्रशासन चलाउन मात्र होइन आन्दोलनको दमनमाथि छानबिन गरी कारबाही गर्ने दबाब पनि उत्तिकै छ।
यो पनि पढ्नुहोस्
‘निर्वाचन नहुने भन्ने त प्रश्नै छैन’प्रकाशित: ४ मंसिर २०८२ १४:१५ बिहीबार





