३० श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

साहित्य र कला राष्ट्रका गहना हुन्, संरक्षणमा सधैं तयार छु: सभामुख

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र सम्वर्द्धनका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

नुर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा आज काठमाडौंमा आयोजित सम्मान, पुरस्कार समर्पण तथा कृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

साहित्य, कला र संस्कृति राष्ट्रका अमूल्य गहना भएको उल्लेख गर्दै सभामुख अर्यालले देशभर लुकेर रहेका प्रतिभाहरूको खोजी गरिनुपर्नेमा जोड दिए।

‘हाम्रो भाषा, साहित्य र संस्कृति नै हाम्रो मौलिक पहिचान हो, जसका कारण नेपाल विश्वसामु परिचित छ,’ उनले भने, ‘मुलुकका विभिन्न स्थानमा रहेका र अझै उजागर हुन नसकेका स्रष्टा तथा प्रतिभाहरूको खोजी गरी उनीहरूलाई राष्ट्रियस्तरमा चिनाउनुपर्छ।’

सो अवसरमा नेपाली साहित्यका विभिन्न विधामा महत्त्वपूर्ण योगदान पुर्‍याएका १० जना स्रष्टालाई नगदसहित सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

गुठीका अध्यक्ष प्रा. डा. गोविन्द नेपालले नेपाली साहित्यको विकास, प्रवर्द्धन र स्रष्टाको सम्मानका लागि गुठी निरन्तर सक्रिय रूपमा लागिपरेको जानकारी दिए।

कार्यक्रममा गुठीका कोषाध्यक्ष एवं सांसद विदुषी राणा, संरक्षक अमिरप्रताप जबरा, सल्लाहकार जानुकी राणा तथा निवर्तमान अध्यक्ष एवं सल्लाहकार प्रा.डा. चूडामणि बन्धुलगायतको उपस्थिति रहेको थियो।

सम्मानित तथा पुरस्कृत स्रष्टाहरूले योगदानको कदर भएकोमा खुसी व्यक्त गर्दै यस्ता पुरस्कारले साहित्य र लोकसाहित्यको उत्थानमा नयाँ पुस्तालाई थप प्रेरणा मिल्ने बताए।

प्रकाशित: ३० श्रावण २०८३ २०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App