नेपाल आयल निगमले काठमाडौं उपत्यकामा आज (शनिबार) विभिन्न ब्रान्डका ६ हजार ८०२ वटा एलपी ग्यास सिलिन्डर प्रत्यक्ष रूपमा उपभोक्तालाई बिक्री वितरण गरेको छ।
अत्यावश्यक परेका उपभोक्तालाई लक्षित गर्दै उपत्यकाका ५ वटा मुख्य बिक्री केन्द्रमार्फत ग्यास वितरण गरिएको निगमले जनाएको छ।
निगमका अनुसार आज टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलबाट ग्यास सिलिन्डर वितरण गरिएको हो।
बिक्री वितरणका क्रममा केही ब्रान्डका सिलिन्डर अपुग भएपछि समयभित्रै लाइनमा उपस्थित भएका उपभोक्ताहरूलाई रित्तो हात फर्किन नपर्ने गरी कुपनको व्यवस्था गरिएको छ।
कुपन पाएका उपभोक्ताहरूलाई आइतबार पहिलो प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने निगमले बताएको छ।
यसैबीच, आयल निगमले भोलि साउन ३१ गते आइतबारका दिन पनि काठमाडौं उपत्यकाका ७ वटा तोकिएका स्थानहरूबाट अत्यावश्यक भएका उपभोक्ताहरूका लागि एलपी ग्यास सिलिन्डर बिक्री वितरण गरिने जानकारी दिएको छ।
प्रकाशित: ३० श्रावण २०८३ १९:५१ शनिबार





