प्रधानमन्त्रीको सुशीला कार्कीले आगामी निर्वाचन एक थोपा रगत पनि नबग्ने र कोही पनि घाइते नहुने गरी पूर्ण शान्तिपूर्ण रूपमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
एसियन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल) को अन्तर्राष्ट्रिय पर्यवेक्षक प्रतिनिधिमण्डलसँगको भेटमा उनले भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार कटिबद्ध रहेको बताइन्।
थाइल्यान्डको बैंककमा सचिवालय रहेको आन्फ्रेलको टोली, कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वमा, निर्वाचनको वातावरण मूल्यांकन गर्न हाल काठमाडौंमा छ।
भेटका क्रममा प्रतिनिधिमण्डलले लामो समय न्याय क्षेत्रको नेतृत्व गरेको व्यक्ति प्रधानमन्त्री भएकाले निष्पक्ष निर्वाचन हुनेमा आफूहरू विश्वस्त रहेको बतायो।
‘तपाईंको लामो न्यायिक अनुभवले स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत राजनीतिक पुनःसंरचना सम्भव हुने हाम्रो विश्वास छ, यसले लोकतान्त्रिक संस्थाहरूलाई जोगाउनेछ,’ प्रतिनिधिमण्डलको भनाइ थियो।
जवाफमा प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको चासो र उपस्थितिले निर्वाचन प्रक्रिया सुरु भइसकेको अनुभूति भएको बताए।
‘हाम्रो मुख्य उद्देश्य नै चुनाव गराउनु हो। स्वस्थ निर्वाचनको वातावरण बनाउन नागरिक समाज र पर्यवेक्षकको पनि भूमिका रहन्छ। यहाँहरूको उपस्थितिले निर्वाचन सुरु भइसकेको अनुभूति गराएको छ,’ उनले भनिन्।
सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन सम्पन्न गराउन आफ्नो तयारीलाई तीव्र पारेको छ।
प्रकाशित: २० कार्तिक २०८२ २०:२१ बिहीबार





