नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफू सनातन हिन्दु धर्मप्रति आस्थावान रहेको बताएका छन्। उनले आफ्नो धार्मिक आस्था व्यक्त गर्न पाउनु प्रत्येक व्यक्तिको अधिकार भएको भन्दै आफुपनि सधै हिन्दु धर्मको पक्षमा रहेको बताएका हुन्।
काठमाडौंको सुकेधारामा आयोजित नेपाली कांग्रेसको इतर समूहको तीनदिने राष्ट्रिय भेलाको समापन समारोहलाई सम्बोधन गर्दै देउवाले हिन्दु धर्म मान्नुको अर्थ अन्य धर्मलाई निषेध गर्नु नभएको बताए।
हिन्दु राष्ट्र र नेपालको धार्मिक पहिचानको बारेमा बोल्दै देउवाले आफू व्यक्तिगत रूपमा हिन्दु भएको र आफू सानैदेखि हिन्दु संस्कारमा हुर्किनुको साथै हिन्दु परम्पराअनुसार व्रतबन्ध र विवाह गरेको तथा पशुपतिनाथमा पूजाआजा गर्ने गरेको बताए।
‘म व्यक्तिगत रूपमा हिन्दु हुँ । मैले हिन्दु परम्पराअनुसार व्रतबन्ध गरेको छु, विवाह गरेको छु । म पशुपति जान्छु र पूजाआजा गर्छु,’ देउवाले भने।
उनले आफूले हिन्दु धर्म मान्छु भन्दैमा मुस्लिम, इसाई वा अन्य धर्म मान्न नपाइने भन्ने आफ्नो धारणा नरहेको बताए। उनले सबै धर्मावलम्बीलाई सम्मान गर्दै आएको र आगामी दिनमा पनि सम्मान गर्ने बताउँदै देउवाले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रता हुनुपर्नेमा आफू दृढ रहेको बताए।
‘मैले हिन्दु धर्म मान्छु भन्न पाउनुपर्छ र पाउँछु । आफ्नो धर्मका बारेमा बोल्न म स्वतन्त्र छु,’ उनले भने, ‘मैले हिन्दु धर्म मान्छु भन्दै गर्दा मुस्लिम वा इसाई धर्म मान्न पाइन्न भनेको छैन । सबै धर्म मान्नेहरूलाई मैले अहिलेसम्म सम्मान गरेको छु र गरिरहनेछु । मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रता हुनुपर्छ।’
नेपाललाई हिन्दु राष्ट्र बनाउने वा नबनाउने विषय भने जनताको निर्णयमा निर्भर रहने देउवाको भनाइ थियो।
प्रकाशित: ३१ श्रावण २०८३ १४:१६ आइतबार


-600x400.jpg)


-600x400.jpg)