२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २२:० अपराह्न
राजनीति

अनशनरत मेयरको चेतावनी: माग पूरा नभए देह त्याग्न तयार छु

तस्बिर: दिपश दर्शनधारी/नागरिक

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आफ्नो माग पूरा नभए देह त्याग गर्न तयार रहेको चेतावनी दिएका छन्।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न पाउने गरी संघीय ऐन संशोधनको माग गर्दै काठमाडौंको माइतीघरमा आमरण अनशन सुरु गरेका उनले यस्तो चेतावनी दिएका हुन्।

‘मैले आफ्ना परिवार, श्रीमती, छोराछोरी सबैलाई भनिसकेको छु, यदि माग सम्बोधन भएन भने प्रकृतिको संरक्षण र किसानको भलाइका लागि देह त्याग गर्नुपर्‍यो भने पनि तयार छु,’ उनले भावुक हुँदै भने, ‘तपाईंहरू नआत्तिनुहोला, आफ्नो गरि खानुहोला।’

मेयर भट्टराईले आफू गाडी र सुरक्षाकर्मी जस्ता राज्यले दिएका सबै सुविधा छाडेर जनताको अधिकारका लागि सडकमा आएको सुनाए। ‘जनप्रतिनिधिहरू छोटे राजाको भूमिकामा छन्, तर म ती सबै शान-सौकात छाडेर सडकमा आएको छु,’ उनले भने, ‘देशभरका नागरिकको यो समस्या समाधान गर्न कोही न कोही त पागल हुनैपर्थ्यो, त्यो म भएँ।’

उनले आफ्नो लडाइँ कुनै व्यक्तिगत स्वार्थका लागि नभई सिंगो देशको प्रकृति, संस्कृति र भूँइमान्छेको हितका लागि भएको स्पष्ट पारे। मन्त्रालयबाट आएको ‘प्रेम पत्र’ ले मात्र आफू वार्तामा नबस्ने र नगरपालिकाले गठन गरेको वार्ता समिति मार्फत आधिकारिक रूपमा बोलाए मात्र छलफलमा बस्ने उनको अडान छ।

‘केही सैद्धान्तिक मागहरू छन्, जसमा हामी कुनै हालतमा सम्झौता गर्दैनौँ। बरु मृत्युवरण सहज छ, तर नागरिकको शिर निहुरिन दिन्न,’ उनले दृढता व्यक्त गरे।

प्रकाशित: १४ श्रावण २०८२ १९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App