भदौ २३ र २४ गते भएको आन्दोलन र भौतिक क्षतिको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनमा सहभागी जेन-जी अभियान्ताहरूसँग सोधपुछ सुरु गरेको छ।
जेन-जी प्रदर्शनको अनुमतिका लागी जिल्ला प्रशासनमा निवेदन पेस गरेका जेन-जी प्रतिनिधिहरुसगँ सोधपुछ सुरु गरिएको हो।
यसैक्रममा आयोगले बुधबार जेन-जी अभियान्ता पुरुषोत्तम यादवसँग सिडिओ कार्यालयमा सोधपुछ गरेको हो। आयोगले आन्दोलनको क्रममा भएको भौतिक क्षति, त्यसको जिम्मेवारी र जेन-जी समूहको भूमिकाबारे मौखिक तथा लिखित रूपमा एक साताभित्र बयान बुझाउन निर्देशन दिएको यादवले जानकारी दिए।
उनले भने, ‘आयोगले लिखित रूपमा विभिन्न प्रश्नको जवाफ माग गरेको छ। ती प्रश्नहरूमा २०८२ भदौ २४ गते सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोडमा जेन-जी समूहको संलग्नता भए–नभएको, भदौ २३ र २४ गते भएका घटनाको जिम्मेवारी कसको हो भन्ने लगाएतको विषयमा सोधपुछ गरेको छ । यसको लिखित जवाफ मैले १ सातामा दिनुपर्छ।’
यादवका अनुसार हाल उनलाई एक्लै बयान लिइएको भए पनि सूचीमा नाम रहेका अन्य व्यक्तिहरूसँग पनि क्रमशः बयान लिने तयारी आयोगको छ। आयोगले आन्दोलनमा सहभागी प्रत्येक जेन-जी अभियान्तालाई छुट्टाछुट्टै रूपमा सोधपुछ गर्ने जनाएको छ।
लिखित बयान एक साताभित्र बुझाउनुपर्ने स्पष्ट निर्देशन दिइएको अभियान्ता यादवले बताए।
प्रकाशित: ९ पुस २०८२ १६:०३ बुधबार




