१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

आन्दोलन हिंसात्मक नबनाउन दुर्गा प्रसाईंलाई मानव अधिकार आयोगको सुझाव

आन्दोलनको घोषणा गर्ने पक्ष र सत्तापक्षसँग क्रमश: छलफल गर्ने

मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगर (बाँया) र दुर्गा प्रसाईं

आन्दोलनलाई शान्तिपूर्ण बनाउन खबरदारी गर्दै राष्ट्रिय मानव अधिकार आयोगले छलफल थालेको छ ।  

बुधबार आयोगले मंसिरमा आन्दोलनको घोषणा गरेका दुर्गा प्रसाईंसँग छलफल गरेको थियो । प्रसाईंले व्यवस्था नै परिवर्तन गर्ने चेतावनीसहित आन्दोलन गर्ने भन्दै समाचार आएपछि आयोगले प्रसाईंलाई बोलाएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले नागरिकलाई जानकारी दिए ।  

उनले भने, ‘हामीले विभिन्न सञ्चार माध्यममा आन्दोलन गर्छौँ भनेर दुर्गा प्रसाईंले भनेको सुन्यौँ, पढ्यौँ, हेर्‍यौँ । उहाँले भनेका कुरा पनि सुन्यौँ । यही विषयमा छलफल गर्न बोलाएका हौँ । हामीले छलफल गरेर पठाएका छौँ ।’

विगतमा भएको प्रसाईं नेतृत्वकै चैत १५ को आन्दोलन, जेन-जीको अगुवाइमा भएको भदौ २३, २४ को आन्दोलनले हिंसात्मक रुप लिँदा मानव अधिकार हनन् भएकोले अब हुने आन्दोलनलाई शान्तिपूर्ण बनाउन र मानवअधिकार रक्षाका लागि भूमिका खेल्न आयोगले अन्य समूह र राजनीतिक दल तथा सरकारी पक्षसँग छलफल गर्ने उनले बताए ।  

‘प्रसाईंमात्र होइन् । जेन-जीका धेरै समूहले आन्दोलन गर्छौँ भन्नुभएको छ । विगतका केही प्रदर्शन हिंसात्मक भए । जस्तो राजावादीका नाममा भएको चैत १५ र जेन-जी समूहको अगुवाइमा भएको भदौ २३, २४ को आन्दोलनले हिंसात्मक रुप लियो । अबका खबरदारी यस्तो हुनुहुँदैन् । शान्तिपूर्ण र संयमित हुनुपर्छ भन्ने आयोगको बुझाइ छ । यही अनुसार उहाँहरूसँग कुराकानी भएको छ,’ प्रवक्ता डा पोखरेलले भने, ‘अब पनि आन्दोलनको घोषणा गर्ने धेरै हुनुहुन्छ । उहाँहरूसँग, राजनीतिक दलहरूसँग र आन्दोलनलाई नियन्त्रण गर्न लाग्ने सरकारसँग पनि हामी छलफल गर्छौँ ।’

केन्द्रदेखि स्थानीय तहसम्म आन्दोलन गर्ने समूहसँग वार्ता र छलफल गर्ने आयोगको योजना रहेको प्रवक्ता पोखरेलले सुनाए । आयोगको छलफल मूलत: आन्दोलनलाई शान्तिपूर्ण कसरी बनाउने, कसरी हिंसात्मक हुनबाट रोक्ने र प्रदर्शनका क्रममा पनि मानव अधिकारको रक्षाका लागि भूमिका खेल्ने भन्ने विषयमा केन्द्रित रहने उनले बताए ।  

वार्तापछि के भने प्रसाईंले  

बुधबार मानव अधिकार आयोगसँगको वार्तापछि प्रसाईंले आफूले घोषणा गरेको मंसिर सातको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् । वार्तापछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले भने, ‘हामी व्यवस्था नै परिवर्तन हुनुपर्छ भन्दै आन्दोलनमा उत्रने हो । तर हामीले घोषणा गरेको आन्दोलन शान्तिपूर्ण हुनेछ । कुनै किसिमको अराजक गतिविधि नगरी आन्दोलनका कार्यक्रमलाई अघि बढाउँछौँ ।’

प्रसाईंले सरकारको भने आलोचना गरे वर्तमान सरकारले जेन-जीसँगको छलफलमा मात्र समय विताएको बताए । उनले भने, ‘अहिलेको सरकारको हालत के छ थाहा छ । पाँच हजार जेन-जीहरु अहिले मन्त्री बन्न लाइनमा छन् । जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै अहिले प्रधानमन्त्रीको टाईमपास भइरहेको छ । बसेर उठ्न नसक्ने हालत प्रधानमन्त्रीको छ ।’  

उनले बालेन साहले अहिले दुर्गा प्रसाईलाई पक्राउ गर्नुपर्छ भन्दै हिडेको भन्दै एकदिन जोगाइदिनुपर्यो भनेर बालेन आफ्नो शरणमा आउने दाबी गरे ।  

उनले भने, ‘बालेन साहले अहिले दुर्गा प्रसाईलाई खेद्दै हुनुहुन्छ, पक्राउ गर्नुपर्‍यो भन्दै हुनुहुन्छ । यो बालेनको मात्र देश हो ? हाम्रो होईन् ? जे पनि राम्रो कुरा बालेनले घरबाट ल्याएर बनाएको भन्ने खालको नारा फिजाउँदै हिँडेका छन् । बालेन पनि एकदिन मेरो घरमा आउनुपर्छ मलाई जोगाइदिनुहोस् भनेर ।’ 

प्रकाशित: १२ कार्तिक २०८२ १५:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App