२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

रोकिएन विपक्षीको अवरोध, बैठक १५ मिनेटका लागि स्थगित

विपक्षी दलका सांसदहरूको निरन्तरको अवरोध र अडानका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने माग गर्दै विपक्षीले सदन चल्न नदिएपछि सभामुखले बैठक रोकेका हुन्।

सभामुखले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिन रोस्ट्रममा बोलाएलगत्तै विपक्षी सांसदहरूले आसनबाट उठेर विरोध सुरु गरेका थिए।

सभामुखले पटक–पटक बस्न र सदनको कारबाही अगाडि बढाउन सहयोग गर्न आग्रह गरे पनि सांसदहरूले त्यसलाई अस्वीकार गरे।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह संसद्‌मा अनुपस्थित हुनु संसदीय मर्यादा विपरीत भएको तर्क गरिरहेका छन्। उनीहरूले नीति तथा कार्यक्रम सरकारको मुख्य दस्ताबेज भएकाले यसको जवाफदेहिता स्वयम् प्रधानमन्त्रीले नै लिनुपर्ने अडान राख्दै आएका छन्।

सदनमा देखिएको गतिरोधका कारण अर्थमन्त्री वाग्लेले आफ्नो मन्तव्य सुरु गर्न पाएनन्। सांसदहरूले उभिएरै विरोध जनाइरहेपछि र सभामुखको आग्रहलाई बेवास्ता गरेपछि बैठक स्थगित गरिएको हो।

प्रकाशित: ३१ वैशाख २०८३ २०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App