स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको हो।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण भइरहेको उल्लेख छ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाल सम्माननीयज्यूको स्वास्थ्य परिक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउँदछौं।’
राष्ट्रपति पौडेल हाल चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा छन्।

प्रकाशित: २५ आश्विन २०८२ १६:०५ शनिबार





