३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

रविको मुद्दामा बिहीबार फैसला आउने आशा छ: अधिवक्ता त्रिपाठी

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जारी सुनुवाइ बिहीबार सकिने र सोही दिन फैसला आउन सक्ने बताएका छन्।

अन्य सबै पक्षको बहस सकिएको र अब उनको मात्र जवाफी बहस बाँकी रहेकाले बिहीबार मुद्दा किनारा लाग्ने त्रिपाठीको अनुमान छ।

‘अरू सबै बहस सिद्धिसकेको छ, मेरो मात्र जवाफी बहस बाँकी छ,’ वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘भोलि बिदा भएकाले पर्सि (बिहीबार) यो बहस टुंगिन्छ र अदालतले न्यायिक निष्कर्ष निकाल्दै आफ्नो फैसला सुनाउँछ भन्ने हाम्रो आशा हो।’

न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा जारी उक्त रिटमाथिको सुनुवाइ तेस्रो दिन पनि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो।

त्रिपाठीले बिहीबार नै फैसला आउने सम्भावना प्रवल रहे पनि इजलासले आवश्यक ठानेमा निर्णय सुनाउन छुट्टै मिति तोक्न सक्ने विकल्प भने खुला रहेको बताए।

महान्यायाधिवक्ता भण्डारीले गत पुस ३० गते लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग हटाएर सहकारी ठगीको मात्र मुद्दा कायम राख्न स्वीकृति दिएकी थिइन्।

लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको भन्दै दिएको निवेदन र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ मा टेकेर महान्यायाधिवक्ताले उक्त निर्णय गरेकी थिइन्।

सोही निर्णयलाई आधार मान्दै पोखरा, काठमाडौं, पर्सा, चितवन र रूपन्देहीका सरकारी वकिल कार्यालयले अभियोग संशोधनका लागि सम्बन्धित जिल्ला अदालतमा निवेदन दिएका थिए।

तर, महान्यायाधिवक्ताको उक्त निर्णय गैरकानुनी भएको दाबीसहित सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट दर्ता भएपछि कास्की र रूपन्देही जिल्ला अदालतले अभियोग संशोधनको निवेदनमाथि तत्काल कुनै निर्णय नगर्ने आदेश गरिसकेका छन्।

प्रकाशित: ३ चैत्र २०८२ १९:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App